नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले मंगलबार वीरगञ्जमा विशाल शक्ति प्रदर्शन गरेको छ। पार्टीले आयोजना गरेको मोटरसाइकल र्याली र कोणसभामा हजारौँ कार्यकर्ता सहभागी भएर एमालेको शक्ति प्रदर्शन गरेका हुन्। मंगलबार दिउँसो चिनिमिल आवास क्षेत्रबाट निस्किएको मोटरसाइकल र्यालीले वीरगञ्ज महानगरका विभिन्न मुख्य सडक परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा रूपान्तरण भएको थियो। र्यालीमा रातो झण्डा, पार्टीका नारा र उत्साहपूर्ण युवा सहभागिता देखिएको थियो।
कार्यक्रमको नेतृत्व एमाले वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्माले गरेका थिए। कोणसभा तथा र्यालीमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजकुमार गुप्ता, केन्द्रीय सदस्य प्रभु हजरा, अरविन्द सिंह, मधेश प्रदेशका उपाध्यक्ष तथा वीरगञ्ज महानगर इञ्चार्ज बिचारी यादव, पूर्व मेयर विजय सरावगी, प्रदेश सभा सदस्य बिना शर्मा, बुद्धिजीवी परिषद् मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, नेताहरु सुन्दर कुर्मी, रन्जु फुयाल, वडा अध्यक्ष अवधकिशोर कुशवाहा लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कोणसभाका वक्ताहरूले देशमा हाल “जेन्जी आन्दोलन” का नाममा भइरहेको गतिविधिलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै यसको छानबिन र कडा कारबाहीको माग गरे। उनीहरूले सो आन्दोलनलाई “देश अस्थिर पार्ने विदेशी एजेन्डा” भन्दै सचेत रहन आम नागरिकलाई अपील गरे।त्यसैगरी, वक्ताहरूले संसद् पुनर्गठनलाई एमालेको मुख्य राजनीतिक अभियानका रूपमा अघि सारे। उनीहरूले सर्वोच्च अदालतले “जनताको म्यान्डेट बोकेको प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने” विश्वास व्यक्त गर्दै, अहिलेको सरकारले जनताको अपेक्षा मारेको आरोप लगाए।वर्तमान सरकारलाई असंवैधानिक र जनमतविहीन बताउँदै वक्ताहरूले भने, “यो सरकार दलाल शक्तिको देन हो। यसबाट देशमा निकास सम्भव छैन। जनताको मत र भावना बिपरित बनेको यो सरकार अब ढल्नेछ।”
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले “संविधानको रक्षा गरौं, राष्ट्रवाद बलियो पारौं”, “जनताको म्यान्डेटको सम्मान गर” लगायतका नारा लगाएका थिए।कार्यक्रमको सहजीकरण वीरगञ्ज महानगर कमिटीका सचिव लियाकत अलीले गरेका थिए। कोणसभा शान्तिपूर्ण वातावरणमा सम्पन्न भए पनि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो।
एमालेले पछिल्ला दिनहरूमा देशभर “संविधान रक्षा र संसद् पुनर्गठन” अभियानअन्तर्गत शक्ति प्रदर्शनहरू गर्दै आएको छ। वीरगञ्जको प्रदर्शनलाई त्यसै अभियानको शक्तिशाली रूप मानिएको छ।