पर्सा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगमार्फत ठगी, फिसिङ र अवैध वित्तीय कारोबार सञ्चालन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन मार्फजाकारी गरेको छ।
पक्राउ परेकामध्ये एक नाबालकसमेत समावेश हुनु, उक्त गिरोह युवाहरूलाई प्रलोभन देखाएर गैरकानुनी वित्तीय गतिविधिमा संलग्न गराइरहेको प्रहरीको प्रारम्भिक ठहर छ।
फेसबुकखातादेखि ‘ओटीपी फ्रड’सम्मस् अनलाइन अपराधको नयाँ मोडेल प्रहरी अनुसन्धानका अनुसार, पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जालमा ‘खाता खोलेर सजिलै कमिशन कमाउने’, ‘विदेशमा जागिर मिलाइदिन्छु’, ‘अनलाइन इनकम’ जस्ता आकर्षक प्रलोभन फैलाउँदै सर्वसाधारणबाट डिजिटल वालेट, बैंक खाता र व्यक्तिगत विवरण संकलन गर्थे।

यस्ता विवरण प्राप्त भएपछि उनीहरूले ती खातालाई अवैध रकम आवत–जावतका माध्यमका रूपमा प्रयोग गर्ने, फिसिङ लिङ्क पठाई ओटीपी झिकाउने, तथा अनलाइन कारोबारमार्फत रकम अन्य व्यक्तिहरूसम्म पुर्याउने काम गर्दै आएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार,२१ वर्षीय राहुल मण्डल, विश्रामपुर गाउँपालिका–२, ३५ वर्षीय कृष्णप्रसाद साह, वीरगञ्ज–२९ मुसौली टोल, तथा १४ वर्षीय एक नाबालक, सोही स्थानका
कात्तिक २६ गते दिउँसो वीरगञ्ज–८ स्थित प्रभु अस्पताल अगाडिबाट पक्राउ परेका हुन्।
प्रहरीले संकलन गरेको डिजिटल प्रमाण र विवरणअनुसार, पक्राउ परेकाहरूले विभिन्न व्यक्तिका बैंक खाता र मोबाइल वालेट प्रयोग गर्दै १० करोड रुपैयाँभन्दा बढी रकम सर्कुलेसन गरिएको देखिएको छ।
रकमको स्रोत शंकास्पद रहेकाले यो रकम अन्तर्राष्ट्रिय साइबर–नेटवर्कसँग जोडिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। समूहले पैसा आवत–जावत गराउने खास व्यक्ति वा समूहमाथि प्रहरीले थप अनुसन्धान तीव्र पारेको छ।
अनुसन्धानमा प्रहरीलाई विभिन्न बैंकका ४३ वटा एटीएम कार्ड समेत फेला परेका छन्। यी कार्ड कसरी प्राप्त गरिएका हुन्, कुन–कुन व्यक्तिका नाममा दर्ता छन्, र कुन माध्यममार्फत रकम लुकाएर चलाएको हो भन्नेबारे अनुसन्धान विस्तार भइरहेको प्रहरीले जनाएको छ।
थप रूपमा, डिजिटल उपकरण, मोबाइल फोन, अनलाइन ट्रान्जेक्सन र नेटवर्क लगहरूको टुरिन्ग पनि सुरु भएको छ।
बैंकिङ कसुरमा मुद्दा दायर प्रक्रियामा जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थपिएको छ। यही अवधिमा प्रहरीले उनीहरूको मोबाइल डेटा, बैंक गतिविधि तथा सामाजिक सञ्जालमा सञ्चालित पेजरखाताको इतिहास जाँच गर्नेछ।
डीएसपी बस्नेतका अनुसार, प्रारम्भिक प्रमाणका आधारमा बैंकिङ कसुर तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर गर्न तयारी भइरहेको छ।
पर्साका एसपी सुदीपराज पाठकले सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा जनचेतना अझै कमजोर रहेको उल्लेख गर्दै सतर्क रहन आग्रह गरेका छन्।
उनका अनुसार, “ठगी भएको ४८ घण्टाभित्र बैंक वा प्रहरीको नम्बर १०० मा जानकारी गरियो भने रकम रोक्का गर्न सकिने सम्भावना धेरै हुन्छ।”प्रहरीले सर्वसाधारणलाई निम्न कुरामा विशेष ध्यान दिन आग्रह गरेको छ ।