जगत राई
ट्राफिक कार्यालय पर्साले शहरभरिको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र सुव्यवस्थित बनाउन विशेष अभियान सुरु गरेको छ। मंगलबारदेखि मधेस विश्व विश्वविद्यालयका विद्यार्थीहरूलाई ‘राष्ट्रका लागि २ घन्टा’ भन्ने नारा सहित ट्राफिक स्वयंसेवकका रूपमा विभिन्न प्रमुख चोक तथा सडक खण्डमा परिचालन गरिएको ट्राफिक कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख, प्रहरी निरीक्षक युवराज कटुवालका अनुसार ट्राफिक व्यवस्थापनमा विद्यार्थीहरूको सक्रिय सहभागिता बढाउने तथा उनीहरूलाई सामुदायिक सुरक्षा र नेतृत्व विकासमा प्रोत्साहन दिने उद्देश्यले यो अभियान थालिएको हो।
“विद्यार्थीहरू नै भोलिका देशका कर्णधार हुन्। उनीहरू विभिन्न पेशामा लाग्ने क्रममा ट्राफिक नियम र कानुनप्रति जागरूक हुनु अत्यन्तै आवश्यक छ,” निरीक्षक कटुवालले बताए। “यसैले घन्टाघर, पावरहाउस चौक, बसपार्कलगायत व्यस्त स्थानहरूमा उनीहरूलाई २ घन्टाका लागि परिचालन गरिएको छ।”
उनीहरूको भनाइमा ट्राफिक प्रहरीको दैनन्दिन जिम्मेवारी, सडक सुरक्षा, नियम पालनाका महत्त्वपूर्ण पक्ष तथा सडक व्यवस्थापनका चुनौतीहरूको प्रत्यक्ष अभ्यासमार्फत विद्यार्थीहरूलाई ज्ञान दिने लक्ष्य रहेको छ।
यही अभियानको सहकार्यमा रहेका मधेस विश्व विश्वविद्यालयका रजिस्ट्रार विजय कुमार यादवले यो कार्यक्रम विद्यार्थीहरूको व्यवहारिक सीप विकासमा अत्यन्त उपयोगी हुने बताएका छन्।
उनी भन्छन्, “किताबमा मात्र ज्ञान राखेर पर्याप्त हुन्न। वास्तविक जीवनमा त्यसलाई कसरी लागू गर्ने भन्ने बुझ्नका लागि सडकमै गएर अनुभव लिन आवश्यक छ। हाम्रो विश्वविद्यालयले निजी कलेजहरू भन्दा फरक ढङ्गले व्यवहारिक शिक्षामा जोड दिइरहेको छ।”
रजिस्ट्रार यादवका अनुसार, कानून र प्रशासन सम्बन्धी शिक्षासँगै व्यवहारिक अभ्यासले विद्यार्थीहरूलाई भविष्यमा दक्ष र जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ।
जिल्ला ट्राफिक कार्यालयले यस अभियानलाई निरन्तर जारी राख्ने बताएको छ। आगामी दिनमा विद्यार्थीहरूको संख्या बढाउँदै अझ धेरै स्थानमा परिचालन गर्ने तयारी भइरहेको पनि ट्राफिक कार्यालय स्रोतले जनाएको छ। बीरगञ्जमा ट्राफिक व्यवस्थापन सुधारका लागि यो पहल स्थानीय स्तरमै महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।