उपकार सेवा नेपालले पर्सा जिल्लाको ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुबा तथा बालबालिकाको लागि आवश्यक पर्ने खाद्यान्न र दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ।
आश्रममा आश्रित १८ जना व्यक्तिहरूका लागि चामल, दाल, खानेतेल, नुन, मसला, बस्कुट, साबुन, धुने पाउडर, डाइपर, तथा अन्य दैनिक प्रयोगका सामग्रीहरू प्रदान गरिएको हो। सहयोग सामग्रीमा मसुर दाल, मुङ दाल, स्वाबिन, चना, अचार, धनियाँ, खुर्सानी, बेसारजस्ता आवश्यक वस्तुहरू पनि समावेश छन्।
एक औपचारिक कार्यक्रममार्फत संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई सामग्रीहरू हस्तान्तरण गरेका थिए।
संस्थाका अनुसार उक्त खाद्यान्न तथा जिन्सी सहयोग प्रत्येक महिनामा निरन्तर रूपमा उपलब्ध गराइँदै आएको छ। उपकार सेवा नेपालले आश्रमका आश्रित व्यक्तिहरूको दैनन्दिन जीवन सहज बनाउन नियमित रूपमा खाद्यान्न, लुगाफाटा, स्वास्थ्य तथा सरसफाइसम्बन्धी सामग्री प्रदान गर्ने गरेको जनाएको छ।
आश्रमका जिम्मेवार व्यक्तिहरूले यस्ता सहयोगले आश्रितहरूको जीवनस्तर सुधारमा ठूलो योगदान पुगेको बताउँदै उपकार सेवा नेपालप्रति आभार प्रकट गरेका छन्।
स्थानीय समुदायका लागि निरन्तर सामाजिक उत्तरदायित्व पूरा गर्दै उपकार सेवा नेपालले Vulnerable समूहको हेरचाह र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समुदायको प्रतिक्रिया रहेको छ।