बाराको सिमरा क्षेत्रमा जेन–जी युवा समूहले राजमार्ग अवरुद्ध गर्दै आएको आन्दोलन बिहीबार स्थगित भएको छ। बन्दाबन्दीले बिहानैदेखि अवरुद्ध बनेको वीरगञ्ज–पथलैया सडक खण्ड दिनभर तनावपूर्ण देखिएको थियो। तर कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने जिल्ला प्रशासनको आश्वासन र शुक्रबार वार्तामा बस्ने औपचारिक सहमतिपछि जेन–जी युवाले दिनको दोस्रो चरणमा प्रदर्शन रोकेका हुन्।
जेन–जी युवा कपिल खरेलका अनुसार प्रशासनसँग गरिएको संवाद र सहमतिअनुरूप बिहीबारको कार्यक्रम स्थगित गरिएको हो। उनले भने, “प्रशासनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। हामी भोलि ९शुक्रबार० वार्तामा बस्छौँ, त्यसैले आजको प्रदर्शन रोक्ने निर्णय गरियो।”
जेन–जी समूहले प्रहरीद्वारा गरिएको भनिएको कुटपिटमा संलग्नलाई कारबाही गर्न माग राख्दै बुधबारदेखि आन्दोलन थाल्दै आएको थियो। बिहीबार पनि उनीहरूले राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शनलाई निरन्तरता दिएका थिए। विगत दुई दिनदेखिको आन्दोलनका कारण औद्योगिक करिडोरका धेरै मार्गमा आवागमन अवरुद्ध बनेको थियो।
बिहीबार पनि प्रदर्शन स्थलमा प्रहरीले अवरोध हटाउने प्रयास गर्दा दुवै पक्षबीच झडप भएको थियो। झडपमा ६ प्रहरी र ४ जना जेन–जी युवा घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकी तथा वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रदर्शन स्थगित भएको घोषणा भएसँगै बिहान ११ बजेदेखि रोकिएको सवारी आवागमन पुनः सुचारु भएको छ। राजमार्ग खुल्दा लामो समयदेखि रोकिएका यात्रुका गाडी बिस्तारै गन्तव्यतर्फ अघि बढेका छन्। स्थानीय व्यापारिक गतिविधि पनि क्रमशः सामान्य बन्दै गएको छ।
व्यापारीहरूले अवरोध हटेपछि राहत अनुभव भएको बताए। उद्योग–व्यवसायमा आवतजावत रोकिनु सिमरा तथा आसपासका क्षेत्रमा आर्थिक गतिविधि ठप्प हुने अवस्थामा पुगेको थियो। जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार हुने भनिएको वार्तालाई निर्णायक बनाउने दाबी गरेको छ। प्रशासनका अधिकारीहरूका अनुसार आन्दोलनकारीको मागबारे वस्तुगत रूपमा छलफल हुनेछ। कुटपिटमा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीले आन्तरिक अनुसन्धान अघि बढाएको प्रशासनको भनाइ छ।
सिमरामा विगत केही दिनदेखि बढ्दो तनाव र झडपले सुरक्षा चुनौती थपिएको थियो। वार्ताबाट दुवै पक्षबीच समझदारी बने सिमरा क्षेत्र फेरि पूर्ण रूपमा सामान्यतातर्फ फर्कने स्थानीयको अपेक्षा छ।