आकाश राजभण्डारी
बाराको कलैयामा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा बुधबार ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सञ्चार क्षेत्रको वर्तमान अवस्था, बढ्दो चुनौती र सम्भावित समाधानका उपायबारे सञ्चारकर्मीलाई स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सञ्चारमाध्यम समाजको ऐना भएको उल्लेख गर्दै समयअनुसार यसको भूमिका झनै जिम्मेवार बन्दै गएको बताए।

उनले प्रविधि विकास र सामाजिक परिवर्तनसँगै सञ्चार क्षेत्रले नयाँ–नयाँ चुनौती भोगिरहेको उल्लेख गर्दै गुणस्तरीय, तथ्यमा आधारित र स्वतन्त्र पत्रकारिता अपरिहार्य रहेको धारणा राखे। सोनलले डिजिटल सञ्चार माध्यमको तीव्र विस्तार, पत्रकारहरूको सुरक्षा, र सञ्चार क्षेत्रको व्यावसायिक सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताए।

स्थानीय सञ्चार माध्यमलाई प्रवर्द्धन गर्दै आधुनिक प्रविधिसँग अद्यावधिक हुन सक्नु आजको आवश्यकता भएको उनको भनाइ थियो। मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायत बारा–पर्साका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका समसामयिक समस्या, चुनौती र सुधारका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए। मिडिया काउन्सिलका प्रतिनिधिहरूले गोष्ठीले सञ्चारकर्मीलाई निष्पक्ष, जिम्मेवार र गुणस्तरीय समाचार सम्प्रेषणतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।