सिके
मानव सेवा आश्रम वीरगन्ज शाखाले सेवा, करुणा र सामाजिक उत्तरदायित्वका आठ वर्ष पूरा गरेको अवसरमा शनिबार वीरगन्जमा भव्य वार्षिक उत्सव सम्पन्न भएको छ।
क्लासिक बैंक्वेटमा सम्पन्न कार्यक्रममा आश्रमले विगत एक वर्षमा गरेका मानवीय कार्य, सहयोगदाताको विवरण तथा आर्थिक आय–व्यय सार्वजनिक गर्दै पारदर्शितालाई प्राथमिकता दिएको थियो।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री पटेलले वीरगन्जमा निर्माणाधीन आश्रम भवनका लागि व्यक्तिगत तथा संस्थागत तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले राज्यस्तरबाट मानव सेवा आश्रमजस्ता संस्थाले अपेक्षित सहयोग नपाइरहेको उल्लेख गर्दै समाजसेवी र दाताहरूको निरन्तर सहयोगकै कारण यस्ता आश्रमहरू सञ्चालनमा रहेको बताए।
मानव सेवा आश्रममा समर्पित स्वयंसेवकहरूको प्रशंसा गर्दै मन्त्री पटेलले उनीहरूलाई ‘ईश्वररूपी सेवक’ को संज्ञा दिए। इमानदारी, निस्वार्थ सेवा भावना र मानवीय संवेदनशीलताका कारण स्वयंसेवकहरूको योगदान अमूल्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायत वक्ताहरूले मानव सेवा, सामाजिक दायित्व र सहकार्यको महत्वबारे विचार राखेका थिए।
मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले सहजीकरण गरेको कार्यक्रममा समाजसेवी प्रकाश थारुले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा आश्रमलाई निरन्तर सहयोग पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आभार प्रकट गरिएको थियो।