वीरगञ्जको शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव जोगाउने साझा प्रतिबद्धतासहित जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले बाह्य क्षेत्र वा अन्य मुलुकमा घटेका घटनालाई लिएर वीरगञ्जमा कुनै पनि किसिमको प्रदर्शन वा आन्दोलन नगर्ने सहमति गरेको छ।
बैठकको निर्णयअनुसार अब बाहिर घटेका घटना–दुर्घटनाको आधारमा यहाँ कुनै कार्यक्रम, जुलुस वा आन्दोलन गर्नुअघि अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुपर्ने व्यवस्था लागू गरिनेछ। अनुमति प्राप्त भएपछि मात्र यस्ता गतिविधि सञ्चालन गर्न पाइने स्पष्ट व्यवस्था गरिएको छ।

धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भावमा आँच आउन नदिन दीर्घकालीन उपायस्वरूप स्थायी ‘सद्भाव संयन्त्र’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। संयन्त्रमा राजनीतिक दल, विभिन्न धार्मिक समुदाय र नागरिक समाजका प्रतिनिधिहरू रहनेछन्, जसले सम्भावित तनावलाई समयमै पहिचान गरी समाधानतर्फ पहल गर्नेछ।
निर्णयअनुसार हिन्दु समुदायबाट रञ्जित साह र रत्न सिंह तथा मुस्लिम समुदायबाट महमद महबुब अली (शेरु) र अली असगर मर्दानी संयन्त्रमा रहनेछन्। आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि थप गर्ने व्यवस्था पनि गरिएको छ। साथै जिल्ला स्तरीय राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि पनि संयन्त्रमा समेटिनेछन्।
बैठकले सञ्चारमाध्यमलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी संवेदनशील र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेको छ। सद्भाव बिगार्ने गतिविधि वा समूहप्रति कडा निगरानी राखी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको छ।
सर्वपक्षीय बैठकमा सहभागी सबै दल, संस्था र अभियन्ताहरूले बैठकका निर्णयलाई आ–आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने र समर्थनमा विज्ञप्ति जारी गर्ने प्रतिबद्धता जनाएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको संयोजनमा सम्पन्न बैठकले सबै पक्षलाई संयम, सहकार्य र अनुशासन अपनाउँदै वीरगञ्जलाई शान्त र सुरक्षित क्षेत्रका रूपमा कायम राख्न आह्वान गरेको छ।