जगत राई
प्याप्सनको ३५ औँ स्थापना दिवसको अवसर पारेर वीरगञ्ज महानगरपालिका–८, पानीट्याङ्कीमा अवस्थित लिटिल बडी प्रि–स्कुलले वार्षिक खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ। बिहीबारदेखि सुरु भएको कार्यक्रम बालमैत्री गतिविधि, खेलकुद र सांस्कृतिक प्रस्तुतिले रंगिएको छ।
कार्यक्रम लिटिल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय बलको अध्यक्षतामा तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। प्रमुख अतिथि आलोकले दीप प्रज्वलन गर्दै विद्यालयले छोटो अवधिमै बालबालिकाको चेतना, हेरचाह र सिकाइको वातावरणमा उल्लेखनीय सुधार ल्याएको बताए।

साना बालबालिकाको मानसिक, शारीरिक र भौतिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नु विद्यालयको ठूलो उपलब्धि भएको उनको भनाइ थियो।
कार्यक्रममा पीजी र नर्सरीका नानीहरूले विभिन्न खेलकुद तथा नृत्य प्रस्तुत गरे। विद्यालयका अनुसार शुक्रबार एलकेजी र युकेजीका कक्षागत गतिविधि तथा प्रदर्शन आयोजना गरिनेछ।
उद्घाटन समारोहमा मौन मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, जनभण्डापुर दैनिकका कार्यकारी सम्पादक जगत राई, खेलप्रेमी विष्णु मल्ल, पत्रकार दीपु वर्णवाल, शिक्षिका रिया रौनियारलगायतले शुभकामना व्यक्त गरे। स्वागत मन्तव्य सुप्रिया पौडेलले राखेकी थिइन् भने कार्यक्रमको सहजीकरण स्वेता गुप्ताले गरेकी थिइन्।
विद्यालयले बालकेन्द्रित सिकाइ र सह–पाठ्यक्रम गतिविधिलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ।