बालबालिकाको हाँसो, ताली र उत्साहले भरिएको माहोलबीच वीरगञ्ज महानगरपालिका–८, पानीट्याङ्कीमा रहेको लिटिल बडी प्री–स्कुल ले आयोजना गरेको वार्षिक खेलकुद सप्ताह औपचारिक रूपमा सम्पन्न भएको छ। साता भरि सञ्चालन भएका विविध खेलकुद गतिविधिमा सहभागी साना नानीहरूलाई उत्कृष्ट प्रदर्शनका आधारमा मेडल र प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको हो।
समारोहका अध्यक्ष विजय कुमार बलले बाल्यकालमै खेलकुदसँग जोडिएको सिकाइले बालबालिकाको आत्मविश्वास र अनुशासन बलियो बनाउने उल्लेख गर्नुभयो। प्रमुख अतिथि प्याब्सन मधेश प्रदेश का वरिष्ठ उपाध्यक्ष पुरण प्रधानले प्रारम्भिक तहदेखि नै खेलकुद, नैतिक शिक्षा र सहकार्यको अभ्यास आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले शैक्षिक अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको विद्यालयको पहल सराहनीय भएको बताउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राहुल श्रीवस्तव, सुरज बाबु पटेल, शिव गुप्ता, आलोक चौरसिया, अमित आलोक, सन्नी पाख्रिन, प्याब्सन पर्सा कार्यसमिति सदस्य शुशिल के।सी।, नेपाल इनोभेटिभ सोसाइटी का अध्यक्ष कमल चौगाई, आइडियल एकेडेमी का प्रधानाध्यापक सुमित कलवार तथा विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेल उपस्थित रहनुभएको थियो।
शुभकामना मन्तव्यमा सुप्रिया पौडेलले खेलकुदले बालबालिकालाई शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा सबल र सामाजिक रूपमा सक्रिय बनाउने बताउनुभयो। कार्यक्रम सञ्चालन स्वेता गुप्ताले गर्नुभएको थियो।
खेलकुद सप्ताहलाई सफल बनाउन खुसी श्रेष्ठ, अस्मिता थापा, रिया रौनियार, लक्ष्मी सरार्फ, प्रिति गुप्ता, दिपा राई, चाँदनी चौधरी, अनु सरार्फ, सितास्मा गुरुङ र रेखा श्रेष्ठलगायत शिक्षिकाहरूको महत्वपूर्ण योगदान रहेको विद्यालयले जनाएको छ। समापन समारोहको सञ्चार कभरेज जगत राई र दिपु बर्णवालले गरेका थिए।
अन्त्यमा विद्यालय परिवारले अभिभावक, अतिथि र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि बालमैत्री, सिर्जनशील र जीवनोपयोगी गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।