पर्सा निर्वाचन क्षेत्र नं। ४ अन्तर्गत जसपा नेपालको क्षेत्रीय चुनावी अगुवा भेला सम्पन्न भएको छ। जिराभवानी गाउँपालिका वडा नं। ३ स्थित विवाह भवनमा आयोजित उक्त कार्यक्रम रामकपुरको अध्यक्षतामा सम्पन्न भएको हो।

भेलाका प्रमुख अतिथि जनता समाजवादी पार्टी ९जसपा० नेपालका महासचिव तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी रहनुभएको थियो। कार्यक्रममा बोल्दै महासचिव राउतले आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टी संगठनलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले मधेशका मुद्दा, अधिकार र पहिचानका लागि जसपा निरन्तर संघर्षरत रहेको बताउँदै कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। कृपा सिन्धु चौधरीले क्षेत्र नं। ४ का जनताको अपेक्षा र आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै जनताको साथ र समर्थनबाट मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने धारणा राख्नुभयो।
त्यसैगरी जसपा केन्द्रीय सदस्य शसीकपुर मियाँले पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारबारे प्रष्ट पार्दै अनुशासित र सक्रिय कार्यकर्ताको भूमिकामा जोड दिनुभयो। उहाँले जरा तहसम्म संगठन सुदृढ नगरेसम्म चुनावी सफलता हासिल गर्न कठिन हुने बताउनुभयो।
कार्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष वशिष्ट गुप्ता, वडा अध्यक्ष देवेन्द्र प्रसाद, लक्ष्मी महतो लगायतका वक्ताहरूले आ–आफ्नो धारणा राख्दै स्थानीय तहका समस्या र विकासका सम्भावनाबारे चर्चा गर्नुभयो। उनीहरूले जसपा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउन प्रतिबद्धता जनाए।
अगुवा भेलामा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलाले क्षेत्रीय स्तरमा चुनावी रणनीति तय गर्दै संगठनलाई थप सक्रिय बनाउने निर्णयसमेत गरेको आयोजकले जानकारी दिएको छ।