भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै उत्साहपूर्ण वातावरणमा दिवस मनाएको छ।

दूतावास परिसर राष्ट्रिय रङमा सजिँदा समारोहमा भारत–नेपाल मित्रताको झल्को स्पष्ट देखिन्थ्यो। समारोहको औपचारिक सुरुवात भारतका महावाणिज्यदूत डी। एस। मीनाद्वारा राष्ट्रिय झण्डा ‘तिरंगा’ फहराएर गरिएको थियो। त्यसपछि उहाँले भारतका राष्ट्रपतिको सन्देश वाचन गर्दै लोकतन्त्र, संविधानको सर्वोच्चता र राष्ट्रिय एकताको महत्वमाथि जोड दिनुभयो। गणतन्त्र दिवसले नागरिकलाई अधिकारसँगै कर्तव्यप्रति पनि सजग बनाउने सन्देश बोकेको उहाँको भनाइ थियो।

कार्यक्रमको अर्को आकर्षण बने सांस्कृतिक प्रस्तुति। वीरगञ्जका शिक्षा विद्यालयसहित १२ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

विद्यार्थीहरूको ऊर्जाशील प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै भारतको सांस्कृतिक विविधता र राष्ट्रप्रेमलाई जीवन्त रूपमा प्रस्तुत गर्यो।

समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, उद्योग वाणिज्य संघ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दूतावासका अनुसार कार्यक्रममा कवि, स्थानीय व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरू गरी विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागिता रहेको थियो।

यसै अवसरमा दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवको अवसरमा विशेष प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको थियो।
दूतावासले यस्ता कार्यक्रमहरूले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र जनस्तरको आपसी समझदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।