गण्डकी प्रदेशमा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थामाथि कारबाही प्रक्रिया तीव्र पारिएको छ। सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले हालसम्म ३५ वटा सहकारी संघ–संस्थाको दर्ता खारेज गरेको छ।
कार्यालयका अनुसार पछिल्लो पटक माघ ९ गतेको निर्णयअनुसार स्याङ्जा, पर्वत र नवलपुर जिल्लाका नौवटा सहकारी संस्थाको दर्ता खारेज गरिएको हो। ती सहकारीहरूले लगातार दुई वर्षसम्म कुनै पनि आर्थिक कारोबार नगरेको र पटक–पटक गरिएको अद्यावधिकको आह्वानलाई बेवास्ता गरेपछि खारेजीको प्रक्रिया अघि बढाइएको हो।
गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (९) बमोजिम निष्क्रिय सहकारीको दर्ता खारेज गर्न सकिने व्यवस्था अनुसार माघ १० गते सार्वजनिक सूचना जारी गरी खारेजीको जानकारी गराइएको सहकारी रजिस्ट्रार भेषराज रिजालले बताए।
उनका अनुसार खारेज गरिएका नौ सहकारीमध्ये स्याङ्जाका चार, पर्वतका चार र नवलपुरको एक सहकारी रहेका छन्। यसअघि नै २६ वटा सहकारी खारेज भइसकेका छन् भने केही संस्थाहरू अझै खारेजीको प्रक्रियामा रहेको उनले जानकारी दिए।
रिजालले बागलुङ जिल्लामा पनि लामो समयदेखि निष्क्रिय र अद्यावधिकमा नआएका सहकारी संस्थालाई खारेज गर्ने तयारी भइरहेको बताए। निष्क्रिय सहकारीका नाममा कुनै दायित्व बाँकी रहेमा संस्थाका सञ्चालक तथा जिम्मेवार पदाधिकारीकै जिम्मामा रहने गरी खारेजी प्रक्रिया अगाडि बढाइएको उनले स्पष्ट पारे।
कार्यालयको तथ्यांकअनुसार हालसम्म खारेज भएका सहकारीमध्ये स्याङ्जामा सबैभन्दा बढी १२ वटा रहेका छन्। त्यसपछि गोरखामा ६, पर्वतमा ५, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २ तथा लमजुङ, बागलुङ र नवलपुरमा एक–एकवटा सहकारी खारेज भएका छन्।
खारेज भएका सहकारी संस्थाले सरकार तथा अन्य निकायलाई तिर्न बुझाउनुपर्ने रकम वा दायित्व भएमा सम्बन्धित सञ्चालक तथा पदाधिकारीहरूले नै जिम्मेवारी लिनुपर्ने सूचना कार्यालयले सार्वजनिक गरेको छ।
माघ ९ गतेको निर्णयअनुसार खारेज हुने सहकारीमा स्याङ्जाको वालिङ नगरपालिकास्थित टापु भञ्ज्याङ कृषि सहकारी संस्था लिमिटेड, कटौजे अदुवा उत्पादक सहकारी संस्था लिमिटेड, चापाकोट गाउँपालिकाका खड्क कालो कृषि सहकारी संस्था लिमिटेड र सरोवर कृषि सहकारी संस्था लिमिटेड रहेका छन्।
त्यसैगरी पर्वतको कुस्मा नगरपालिकामा रहेको गहते पखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रगति कफी सहकारी संस्था लिमिटेड, पूर्णेश्वर कफी सहकारी संस्था लिमिटेड, पर्वत आदर्श नमूना कृषि सहकारी संस्था लिमिटेड तथा नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित भूपूसैनिक सहकारी संस्था लिमिटेड पनि खारेज भएका छन्।