वीरगञ्ज महानगरपालिकाको अन्तर्राष्ट्रिय पहिचान बोकेको मितेरीपुल क्षेत्रमा सीमा सुरक्षालाई थप मजबुत बनाउने ऐतिहासिक कदम चालिएको छ। नेपाल–भारत आवतजावतको मुख्य नाका मानिने यस क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको समुद्घाटन समारोह सोमबार भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिकाको सहयोग, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सशस्त्र प्रहरी बल नेपाल नं।–१३ गण, हेडक्वाटरको सहकार्यमा सञ्चालन भइरहेको “मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम” अन्तर्गत उक्त सुरक्षा पोष्ट निर्माण गरिएको हो। सुरक्षा, व्यवस्थापन र सौन्दर्य—तीनै पक्षलाई समेट्ने उद्देश्यसहित निर्माण गरिएको यो संरचनालाई सीमाक्षेत्र सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सीमा सुरक्षा पोष्टको औपचारिक समुद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं।–१३ गणका प्रमुख एसपी पुरण चन्द भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी, कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिप राज पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चारकर्मी अभिलाष गुप्ता, सुसमिता यादव तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा सक्रिय सहभागिता देखिन्थ्यो।
कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा बेलुन उडाएर सीमा सुरक्षा पोष्टको समुद्घाटन गरे। सीमाक्षेत्रमा शान्ति, सुरक्षा र व्यवस्थित आवागमनको सन्देश बोकेका ती रंगीन बेलुनहरूले समारोहलाई थप अर्थपूर्ण बनाएका थिए।
समारोहलाई सम्बोधन गर्दै मेयर राजेशमान सिंहले मितेरीपुलजस्तो संवेदनशील र अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा आधुनिक सीमा सुरक्षा पोष्ट निर्माण हुनु सीमा सुरक्षा सुदृढीकरण, अव्यवस्थित गतिविधि नियन्त्रण, आवागमन व्यवस्थापन सुधार र नगरको सौन्दर्य अभिवृद्धिका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्यबाट मात्र दिगो विकास र सुरक्षित सीमाक्षेत्र निर्माण सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विशिष्ट अतिथि एसपी पुरण चन्द भट्टले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षामा सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे। स्थानीय तहसँगको सहकार्यले सुरक्षा व्यवस्था अझ प्रभावकारी हुने बताउँदै उनले मितेरीपुलजस्तो संवेदनशील सीमाक्षेत्रमा निर्माण गरिएको यो सुरक्षा पोष्टले शान्ति, सुरक्षा र आपसी विश्वासको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक तथा ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले गरेका थिए। अध्यक्ष खेतानले मितेरीपुल क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित सीमा सौन्दर्यकरण कार्यक्रम अघि बढाइएको जानकारी गराउँदै नवनिर्मित सीमा सुरक्षा पोष्ट सोही अभियानअन्तर्गतको एक महत्वपूर्ण उपलब्धि भएको बताए।
नवनिर्मित सीमा सुरक्षा पोष्टसँगै मितेरीपुल क्षेत्र अब सुरक्षित मात्र होइन, व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ। यसले सीमावर्ती क्षेत्रमा हुने गतिविधि नियन्त्रण, यात्रुहरूको सहज आवागमन तथा वीरगञ्जको अन्तर्राष्ट्रिय छविमा सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।