प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रेस चौतारी नेपाल, पर्साको महत्वपूर्ण बैठक आज सम्पन्न भएको छ। बैठकले नेकपा (एमाले) का तर्फबाट पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव, क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश कुमार पाण्डे तथा क्षेत्र नम्बर–४ का उम्मेदवार जालिम मियाँलाई विजयी बनाउन चौतारीका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा तदारुकताका साथ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
बैठकले प्रतिनिधि सभा निर्वाचनमा एमालेको पक्षमा जनमत निर्माण गर्न प्रेस चौतारीले कुनै कसर बाँकी नराख्ने स्पष्ट निर्णय गरेको छ। त्यसका लागि चौतारीमा आबद्ध पत्रकारहरू उम्मेदवारसँग नजिक रहेर तथ्यपरक, जिम्मेवार र सकारात्मक समाचार सम्प्रेषणमा लाग्ने जिम्मेवारी समेत तोकिएको छ। पार्टीका नीति, कार्यक्रम तथा उम्मेदवारका गतिविधिलाई जनतामाझ सही ढंगले पुर्याउनु पत्रकारहरूको मुख्य दायित्व हुने बैठकको निष्कर्ष छ।
बैठकमा प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज अच्युत पौडेल, प्रदेश अध्यक्ष लालबाबु शेख, नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दास, जिल्ला प्रचार प्रमुख सुन्दर प्रसाद कुर्मी, प्रेस चौतारी पर्साका इन्चार्ज तुलसी भण्डारीलगायतले वर्तमान राजनीतिक परिस्थितिमा चौतारीले खेल्नुपर्ने भूमिकाका बारेमा आ–आफ्ना धारणा राखेका थिए। उनीहरूले पत्रकारिता र राजनीतिक उत्तरदायित्वलाई सन्तुलनमा राख्दै चुनावी वातावरणलाई सकारात्मक बनाउने आवश्यकता औंल्याएका थिए।
बैठकका प्रमुख अतिथि एवं एमाले पर्साका जिल्ला सचिव महेश दासले पार्टी निकट पत्रकारहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट निर्देशन दिँदै एमालेको नीति, सिद्धान्त र उपलब्धिलाई जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए। उनले गलत प्रचार र भ्रमलाई चिर्दै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे।
बैठक प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो। अध्यक्ष मिश्रले निर्वाचनको यो संवेदनशील समयमा प्रेस चौतारीका सम्पूर्ण सदस्यहरू एकजुट भई पार्टीको विजयका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
बैठकले आगामी दिनमा नियमित छलफल, कार्ययोजना निर्माण तथा फिल्डस्तरको सक्रियता बढाउने निर्णयसमेत गरेको छ। प्रेस चौतारी पर्साले निर्वाचन अवधिभर संगठित, सक्रिय र अनुशासित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैठक सम्पन्न भएको हो।