वीरगञ्ज महानगरपालिका वडा नं। ८ पानीट्याङ्कीमा अवस्थित लिटिल बडी प्रि स्कुलको तेस्रो वार्षिक उत्सव भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नानीहरूको प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक विविधता झल्काउने विभिन्न कार्यक्रमसहित आयोजित समारोहले अभिभावक तथा अतिथिहरूलाई भावुक र उत्साहित बनाएको थियो।
कार्यक्रम लिटिल बडी प्रि स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, शिक्षा क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कर्णले साना बालबालिकाहरूको प्रस्तुति देखेर अत्यन्तै खुशी लागेको बताए। उनले प्रारम्भिक बालशिक्षाको महत्वलाई विशेष जोड दिँदै केवल विद्यालय भर्ना गर्नु मात्र पर्याप्त नहुने, बालबालिकाको समग्र विकासका लागि सिर्जनात्मक र व्यवहारिक शिक्षाको आवश्यकता रहने उल्लेख गरे। उनले प्रि–स्कुल तहदेखि नै बालबालिकाको प्रतिभा पहिचान गरी लेखन, वाचन, अभिव्यक्ति र सामाजिक सीप विकासमा ध्यान दिएकोमा विद्यालय परिवारको प्रशंसा गरे।
उनले वीरगञ्जमा गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्ने संस्थाहरू सीमित रहेको उल्लेख गर्दै लिटिल बडी प्रि स्कुलले अभिभावकहरूको विश्वास जित्दै उदाहरणीय कार्य गरिरहेको बताए। आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी शिक्षण सिकाइमार्फत उज्ज्वल शैक्षिक वातावरण निर्माणमा विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शुभकामना पनि दिए।
समारोहमा प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौला, जिल्ला सदस्य सुलभ केसी, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, महानगर सचिव अमित आलोक, एन प्याब्सन महानगर अध्यक्ष जियालाल शाह लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यालयले छोटो समयमै गरेको प्रगति र बालमैत्री शिक्षण पद्धतिको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले व्यक्त गरेका थिए। उनले प्रारम्भिक शिक्षाले नै बालबालिकाको भविष्यको आधार तय गर्ने भएकाले यस्तो स्तरको शैक्षिक पहल अत्यन्त सराहनीय रहेको बताए। कार्यक्रमको सहजीकरण शिक्षिका श्वेता गुप्ताले गरेकी थिइन्, जसले कार्यक्रमलाई व्यवस्थित र आकर्षक ढंगले अघि बढाएकी थिइन्।
वार्षिक उत्सवको मुख्य आकर्षण एलकेजी, नर्सरी र यूकेजी तहका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति रहे। नेपालीसहित विभिन्न जातजाति र भाषिक समुदायका भेषभूषा झल्किने नृत्य, गीत, अभिनय र समूह प्रस्तुतीहरूले दर्शकहरूलाई मोहित पारेका थिए। साना नानीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र मंच कौशलले अभिभावकहरू गर्वित देखिन्थे।
कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई सम्मानपत्र तथा पुरस्कार वितरण पनि गरिएको थियो। अभिभावकहरूले विद्यालयले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। समग्रमा उत्सवले बालबालिकाको क्षमता, विद्यालयको शैक्षिक प्रतिबद्धता र अभिभावक–विद्यालय सहकार्यको सुन्दर उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।