नेकपा एमालेका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रूपेश कुमार पाण्डेले पर्साका विभिन्न स्थानमा रहेका शहीदका सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। शहीद दिवसको अवसर पारेर शहीदहरूको स्मृतिबाट आफ्नो चुनावी अभियान सुरु गरे सँगै पर्सा–३ मा नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको बताए।
‘सेरे पर्सा’ भनेर चिनिने स्व। चन्द्रदेव प्रसाद चौधरीको सालिकमा माल्यार्पण गर्दै अभियान सुरु गरेका उनले रंगपुर टाँडी, पोखरिया नगरपालिकास्थित मधेश आन्दोलनका शहीद चन्दन पटेल तथा पकहामैनपुरका अमर शहीद शत्रुधन पटेलको सालिकमा समेत श्रद्धा प्रकट गरे। यसै क्रममा अमर शहीद शत्रुधन पटेलकी आमा कुस्मी देवीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

पर्सा–३ को भूगोल, सामाजिक संरचना र जनचाहनालाई नजिकबाट बुझेका पाण्डे पछिल्लो समय जनतामाझ निरन्तर सक्रिय देखिँदै आएका छन्। पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको सुधार, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरण उनका मुख्य एजेन्डा रहेका छन्।
शहीद दिवसका अवसरमा उनले, “आज हामीले पाएको अधिकार र अवसर शहीदहरूको बलिदानकै देन भएको, म उनीहरूले देखेको सपना बोकेर मैदानमा उत्रिएको हुँ। पर्सा–३ को वास्तविक परिवर्तन गरेरै छाड्छु।”
राज्यले शहीदप्रति सम्मान केवल औपचारिकतामा सीमित नराखी व्यवहारमै सपना पूरा गर्न अग्रसर हुनुपर्ने धारणा पनि व्यक्त गरे।
उनको स्पष्ट र निर्भीक अभिव्यक्तिपछि पर्सा–३ को चुनावी माहोल थप तातेको छ। लामो समयदेखि दोहोरिँदै आएको पुरानो नेतृत्व र अधुरा विकास योजनाबाट आजित मतदाता नयाँ विकल्पको खोजीमा रहेको देखिन्छ। यही सन्दर्भमा पाण्डेलाई परिवर्तनको आशा र भरोसाका रूपमा हेरिन थालेको बताए।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, उपाध्यक्ष अकलेश कुमार साह, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमालेका विभिन्न नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।