पर्साको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा एमालेको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आयोजित उक्त भेलालाई एमालेको स्थानीय संगठन सुदृढीकरण र चुनावी अभियान विस्तार गर्ने अभियानको निरन्तरताका रूपमा हेरिएको छ।
स्थानीय तहमा पार्टीको गतिविधि बढ्दै गएको अवस्थामा आयोजित कार्यक्रममा पालिका तथा वडास्तरका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा समर्थकहरूको सहभागिता देखिएको थियो। सहभागीहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संरचनालाई अझ सक्रिय र व्यवस्थित बनाउने आवश्यकता औँल्याएका थिए।

कार्यक्रम नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो भने पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, गाउँपालिका अध्यक्ष जसवंत यादव, नेतृ फुलमती चौधरी, बाशुदेव थारू लगायत स्थानीय तहका विभिन्न नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु हजराले देशमा राजनीतिक स्थायित्व, सुशासन र विकासका एजेन्डालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बलियो नेतृत्व आवश्यक पर्ने उल्लेख गरेका थिए। उनले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा पार्टी संगठनलाई थप बलियो बनाउन सबै तहका कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
कार्यक्रममा सहभागी हुँदै पर्सा–३ का प्रतिनिधिसभा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका विकास चुनौतीहरूबारे चर्चा गर्दै समाधान केन्द्रित योजना प्रस्तुत गरेका थिए। उनले शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
.jpeg)
उनले क्षेत्रको समग्र विकासका लागि नीतिगत प्रतिबद्धता र कार्यान्वयन दुवै महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने बताए। कार्यक्रममा सहभागी स्थानीय नेता–कार्यकर्ताले आगामी निर्वाचनमा पार्टी उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भेलाले स्थानीय तहमा पार्टी संगठनलाई थप सक्रिय बनाउन सकारात्मक ऊर्जा दिएको आयोजक पक्षको भनाइ छ।
यसै क्रममा आउँदो शनिबार बनसपति गाद्दीमाई मन्दिर परिसरमा आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सफल बनाउन सबै तहका नेता–कार्यकर्ता तथा समर्थकलाई सहभागिताका लागि आह्वान गरिएको छ। राजनीतिक रूपमा प्रतिस्पर्धात्मक मानिने पर्सा–३ क्षेत्रमा दलहरू चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। सखुवा प्रसौनीमा सम्पन्न यो भेला स्थानीय स्तरमा चुनावी गतिविधि विस्तार भइरहेको संकेतका रूपमा हेरिएको छ।