नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नं १ का उमेदवार प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नम्बर १८ र २२ मा शुक्रवार घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। स्थानीय जनताको प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका क्रममा स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाहरू सुन्ने अवसर प्राप्त भएको बताइएको छ। स्थानीय बासिन्दाहरूले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खानेपानी तथा सरसफाइ लगायतका विषयमा आफ्ना धारणा राखेका थिए। जनतासँग प्रत्यक्ष संवाद गर्दा स्थानीय आवश्यकता र प्राथमिकता बुझ्न सहज हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवाज समेत उठेको थियो।

यसै क्रममा वीरगंज–१८ भवानीपुर निवासी मधेश आन्दोलनका वीर शहीद स्वर्गीय धर्मराज सिंह राजपुतका ममतामयी आमा श्री कलावती देवी राजपुतिनसँग पनि भेटघाट गरिएको थियो। उहाँसँग भेट गरी आशीर्वाद लिने अवसर प्राप्त भएको बताइएको छ। शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै मधेश आन्दोलनले स्थापित गरेका अधिकार र उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभामा जनताको आवाज मजबुत रूपमा उठाउने अठोट व्यक्त गरिएको थियो। विकास, सुशासन र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै जनताको विश्वासलाई सबैभन्दा ठूलो शक्ति मानिएको बताइएको छ।

स्थानीय जनताले समेत यस्ता भेटघाट कार्यक्रमले जनप्रतिनिधिलाई नजिकबाट बुझ्ने र आफ्ना कुरा राख्ने अवसर मिल्ने भएकाले सकारात्मक प्रभाव परेको बताएका छन्। आगामी दिनमा पनि वडा तथा टोलस्तरमा यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने वडा नम्बर १८ र २२ का सम्पूर्ण जनताप्रति धन्यवाद व्यक्त गरिएको छ। स्थानीयवासीले देखाएको माया, साथ र विश्वासले थप जिम्मेवार भएर जनताको सेवामा लाग्न प्रेरणा दिएको प्रतिक्रिया समेत व्यक्त गरिएको छ।