फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक गतिविधि झनै तीव्र बन्दै गएको छ। यसैबीच नेकपा एमालेले क्षेत्रीय स्तरमा परिवर्तनको सशक्त सन्देश प्रवाह गर्दै चुनावी अभियानलाई थप आक्रामक बनाएको छ। पटेर्वा सुगौली गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रमले एमालेको चुनावी रणनीति र आत्मविश्वास दुवैलाई प्रष्ट रूपमा प्रस्तुत गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले यसपटक पर्सा–३ मा राजनीतिक परिवर्तन अवश्यंभावी भएको दाबी गरे। उनले निर्वाचनलाई केवल सत्ताको प्रतिस्पर्धा नभई विकास, स्थायित्व र राष्ट्रिय स्वाभिमानको मुद्दासँग जोडिएको बताए।
भट्टराईले आफ्नो सम्बोधनमा नेकपा एमालेको वैचारिक धरातल स्पष्ट पार्दै पार्टी विदेशी शक्तिको प्रभावमा नरहेको र पूर्ण रूपमा नेपाली जनताको हित र आवश्यकतामा केन्द्रित रहेको उल्लेख गरे। उनले एमालेलाई जेनजी पुस्ताको विरोधी भनेर फैलाइएका भ्रमहरूलाई खण्डन गर्दै पार्टी षड्यन्त्र, अस्थिरता र घुसपैठकारी गतिविधिको मात्र विरोधी रहेको बताए। उनका अनुसार जेनजी पुस्ताका मागहरू समयसापेक्ष र जायज छन् तथा ती मागहरू कार्यान्वयन गर्ने स्पष्ट योजना र क्षमता एमालेसँग रहेको छ।
उनले राष्ट्रिय विकासको सन्तुलित मोडेलमा जोड दिँदै हिमाल, पहाड र तराईलाई समान रूपमा विकास गर्ने नीति एमालेको मुख्य प्राथमिकता भएको बताए। साथै सबै जातजाति, भाषा, धर्म र समुदायको समान अधिकार सुनिश्चित गर्दै सामाजिक सद्भाव कायम राख्ने लक्ष्य पनि एमालेको नीति रहेको उनले स्पष्ट पारे। युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्दै देशमै भविष्य देखाउने वातावरण बनाउने कुरा एमालेको मुख्य एजेन्डा रहेको उनले बताए।
कार्यक्रममा भट्टराईले पर्सा–३ बाट एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेलाई परिवर्तनको नेतृत्व गर्ने सक्षम र उर्जाशील नेताका रूपमा प्रस्तुत गरे। उनले पाण्डेको जित सुनिश्चित रहेको दाबी गर्दै यसपटकको निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा परिवर्तन गर्ने विश्वास व्यक्त गरे। उनले उत्साहपूर्ण शैलीमा यस वर्षको होली उत्सव एमाले र युवा उम्मेदवारको विजयसँगै मनाइने ठोकुवा समेत गरे।
भेलामा उपस्थित कार्यकर्ता तथा स्थानीयवासीहरूले युवा नेतृत्व, स्पष्ट विकास योजना र पार्टीको संगठनात्मक मजबुतीलाई आधार बनाएर चुनावी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा देखिएको सहभागिता र उत्साहले पर्सा–३ मा एमालेको संगठनात्मक संरचना थप मजबुत हुँदै गएको संकेत दिएको बताइएको छ।
विश्लेषकहरूका अनुसार युवा उम्मेदवारको प्रस्तुति, केन्द्रीय नेतृत्वको सक्रिय उपस्थिति र आक्रामक चुनावी रणनीतिले पर्सा–३ मा एमालेको चुनावी माहोल दिनप्रतिदिन सुदृढ बन्दै गएको देखिन्छ। निर्वाचन नजिकिँदै जाँदा यहाँको राजनीतिक प्रतिस्पर्धा अझ रोचक र तीव्र हुने अनुमान गरिएको छ।