पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रमा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको बेला विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू नेकपा ९एमाले० मा प्रवेश गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नं ३१ मा आयोजित विशेष कार्यक्रममार्फत नवप्रवेशीहरूलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको हो।
जनता समाजवादी पार्टी ९जसपा० का वडा कमिटी उपाध्यक्ष कुर्बान खान, अब्दुल रहमान अंसारी र खलील अंसारी लगायत स्थानीय तहका प्रभावशाली नेताहरूको नेतृत्वमा विभिन्न दलमा आबद्ध रहेका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा सहभागी नवप्रवेशीहरूले देश विकास, राजनीतिक स्थायित्व र सुशासनको एजेन्डाबाट प्रभावित भएर एमाले रोजेको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरूले नवप्रवेशीहरूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गरेका थिए। उनीहरूले देशलाई विकास, समृद्धि र सुशासनको दिशामा अघि बढाउन एमालेले स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेको उल्लेख गर्दै यस अभियानमा जनताको साथ बढ्दै गएको दाबी गरेका थिए।
नेताहरूले नेपाललाई आर्थिक रूपमा समृद्ध, सामाजिक रूपमा समावेशी र राजनीतिक रूपमा स्थिर राष्ट्र बनाउने साझा लक्ष्य हासिल गर्न सबै देशभक्त नागरिकहरूको सहकार्य आवश्यक रहेको बताए। नवप्रवेशीहरूको आगमनले पार्टी संगठन थप बलियो बन्नुका साथै आगामी राजनीतिक यात्रामा सकारात्मक ऊर्जा थपिएको उनीहरूको भनाइ थियो।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले पनि सामूहिक प्रयास, एकता र दृढ संकल्पका साथ जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहने बताएका थिए। उनीहरूले स्थानीय स्तरमा जनतासँग प्रत्यक्ष सम्पर्क राख्दै विकास निर्माणका कामलाई प्राथमिकतामा राख्ने बताएका थिए।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि राजनीतिक स्थायित्व र विकासमुखी नेतृत्वको आवश्यकता औंल्याउँदै नयाँ रूपमा पार्टी प्रवेश गर्नेहरूलाई शुभकामना दिएका थिए। यसले वीरगञ्ज क्षेत्रको राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने आकलन गरिएको छ।

पार्टी स्रोतका अनुसार पछिल्लो समय एमालेले देशभर संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। विशेषगरी तराई–मधेस क्षेत्रमा पार्टीको जनाधार विस्तार गर्ने रणनीति अन्तर्गत यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताइएको छ।
कार्यक्रमको अन्त्यमा नेताहरूले सबैको सामूहिक प्रयास, एकता र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। साथै आगामी दिनमा जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउँदै विकास र समृद्धिको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाइएको थियो।