मधेसको राजनीतिक समीकरण फेरबदल भइरहेका बेला पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा दल परिवर्तन र चुनावी तयारी दुवै तीव्र बन्दै गएको देखिएको छ। पछिल्लो समय जनता समाजवादी पार्टीसँग आबद्ध रहेका प्रभावशाली नेता तथा वीरगञ्ज महानगरपालिका–२ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा एमालेमा प्रवेश गरेपछि क्षेत्रीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

शेख नवरोजको अध्यक्षतामा आयोजित वडा स्तरीय भेलामा भएको उक्त प्रवेशलाई एमालेले संगठन विस्तार र चुनावी आधार मजबुत बनाउने रणनीतिक उपलब्धिका रूपमा व्याख्या गरेको छ। स्थानीय तहमा प्रभाव राख्ने नेताहरू एमालेमा प्रवेश गर्न थालेपछि आगामी प्रतिनिधिसभा निर्वाचनअघि राजनीतिक ध्रुवीकरण तीव्र हुने संकेत देखिएको छ।
नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा पर्सा–१ विशेष महत्वको निर्वाचन क्षेत्र मानिन्छ। यसअघि प्रदीप यादव लगातार दुई निर्वाचनमा विजयी भइसकेका नेता हुन् र पछिल्लो समय जसपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन्।यसअघि उनी जसपा नेपालबाट पर्सा–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका थिए।

भेलामा बोल्दै पर्सा क्षेत्र नम्बर–१ का एमाले उम्मेदवार प्रदीप यादवले आफ्नो अघिल्लो कार्यकालमा भएका विकासका कामहरूको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा जनताको बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा रोजगारी सिर्जना आफ्नो प्राथमिकता रहने बताएका थिए।
स्थानीय आवश्यकतामा आधारित विकास मोडेल लागू गर्दै क्षेत्रलाई आर्थिक र सामाजिक रूपमा सुदृढ बनाउने योजना रहेको उनको भनाइ थियो।
कार्यक्रमका क्रममा एमाले नेतृत्वले आगामी निर्वाचनलाई निर्णायक राजनीतिक मोडका रूपमा व्याख्या गर्दै पार्टीको जितका लागि सबै तहका कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका थिए। भेलामा सहभागी नेताहरूले संगठन विस्तार, मतदाता सम्पर्क र घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने रणनीतिमा जोड दिएका थिए।
भेलामा एमाले जिल्ला सचिव महेश दास, सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख सुन्दर कुर्मी, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता उमेश सहनी, शेष जलसोदिन, लाल महमद लगायतले सम्बोधन गर्दै एमाले उम्मेदवार प्रदीप यादवलाई भारी मतले विजयी गराउन कार्यकर्तालाई आह्वान गरेका थिए।
त्यस अवसरमा ज्येष्ठ कम्युनिष्ट कार्यकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले पार्टीभित्रको पुरानो नेतृत्वको योगदानलाई संस्थागत रूपमा कदर गरिएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–१ मा यसपटक दल परिवर्तन, व्यक्तिगत प्रभाव र चुनावी रणनीतिले परिणाममा महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ। पछिल्लो समय चुनावी अभियान तीव्र बने पनि मतदाताबीच उत्साह र भ्रम दुवै देखिएको विश्लेषण समेत गरिएको छ।
एमाले नेताहरूले भने क्षेत्र नम्बर–१ लाई पार्टीको मजबुत आधार क्षेत्र बनाउने लक्ष्य राखेको बताएका छन्। पार्टी प्रवेश कार्यक्रम, कार्यकर्ता भेला र जनसंपर्क अभियानलाई निरन्तरता दिँदै चुनावी मैदानमा बलियो उपस्थिति देखाउने तयारी रहेको जनाइएको छ ।