प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सुशील साह कानु वीरगन्ज महानगरपालिका–२७ अन्तर्गत उदयपुर घुर्मी क्षेत्रमा चुनावी घरदैलो कार्यक्रममा सहभागी भएका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका विकास, रोजगारी सिर्जना, शिक्षा सुधार र सुशासन सम्बन्धी आफ्ना प्राथमिकताहरू प्रस्तुत गरेका थिए। स्थानीय नागरिकका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेको सहभागीहरूले बताएका छन्।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीका विषयलाई मुख्य मुद्दाका रूपमा उठाएका थिए। उम्मेदवार कानुले यी समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताउँदै जनप्रतिनिधि जनताको घरदैलोमै पुगेर काम गर्नुपर्ने धारणा राखेका थिए।
सुशील साह कानु यसअघि वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्ष रहेकामा प्रतिनिधिसभा निर्वाचनका लागि पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नम्बर–२ मा चुनावी मैदानमा उत्रिएका छन्।
पार्टी स्रोतका अनुसार घरदैलो अभियानलाई थप प्रभावकारी बनाउँदै विभिन्न टोल र बस्तीमा निरन्तर कार्यक्रम सञ्चालन गरिनेछ। युवावर्ग, व्यवसायी तथा श्रमिक वर्गसँग विशेष संवाद कार्यक्रम गर्ने तयारी समेत रहेको जनाइएको छ।
स्थानीय तहबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका उम्मेदवार कानुले जनताको विश्वास जित्ने लक्ष्यसहित चुनावी अभियानलाई तीव्र बनाएको बताइएको छ। घरदैलो कार्यक्रममा स्थानीय पार्टी समर्थक, युवा स्वयंसेवक तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी अभियान तीव्र बनाइरहेका छन् भने मतदाताबीच चुनावी माहोल क्रमशः तातिँदै गएको देखिएको छ।