पर्सागढी नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने प्रसुरामपुर र भेडाहा टोलमा आइतबार नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवप्रति स्थानीय जनता असन्तुष्ट देखिएका छन्। चुनावी घरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी स्थानीयले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवाका विषयमा तीव्र असन्तोष व्यक्त गरेका हुन्।
स्थानीयवासीका अनुसार वर्षौंदेखि सडक, खानेपानी, नालासफाइ, स्वास्थ्य चौकी र रोजगारीका समस्या उस्तै रहँदा पनि उम्मेदवारको तर्फबाट ठोस पहल नदेखिएको गुनासो छ। “भोट माग्न त हरेक चुनावमा आउँछन्, तर जितेपछि यहाँ फर्केर हेर्दैनन्,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
घरदैलो कार्यक्रममा स्थानीय युवाहरूले रोजगारीको अभावले विदेश पलायन बढ्दै गएको विषय उठाएका थिए भने महिलाहरूले स्वास्थ्य सेवा र खानेपानीको समस्या अझै समाधान नहुँदा दैनिक जीवन कष्टकर बनेको बताएका छन्। किसानहरूले सिंचाइ र मल–बिउको समस्या वर्षौंदेखि जस्ताको तस्तै रहेको गुनासो गरे।
स्थानीयको भनाइमा उम्मेदवारका भाषण र प्रतिबद्धतामा नयाँपन र स्पष्ट विकास योजना नदेखिएको भन्दै केवल नाराले मात्रै जनताको विश्वास जित्न नसकिने अवस्था बनेको छ। कतिपय स्थानीयले विगतमा गरिएका चुनावी प्रतिबद्धता पूरा नभएकाले यसपटक प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन्।
प्रसुरामपुर र भेडाहा टोलमा देखिएको यो असन्तोषले पर्सागढी–४ मा चुनावी माहोल तातेको संकेत गरेको छ। मतदाताहरूले यसपटक विकास र जवाफदेहिता मुख्य मुद्दा हुने स्पष्ट संकेत दिएका छन्।