पर्सा : पर्सा जिल्लाको पकाहाँ मैनपुर गाउँपालिकामा भौतिक पूर्वाधार विकासले ठोस रूप लिन थालेको छ। वर्षौँदेखि उपेक्षित रहँदै आएको गाउँपालिका–४ अन्तर्गत ठूलो लहावरथकरीदेखि आत्माराम पथसम्मको सडक अब ढलानसहित पक्की बन्ने निश्चित भएको छ। उक्त सडक निर्माणका लागि टेन्डर प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोग तथा पकाहाँ मैनपुर गाउँपालिकाका मेयर प्रत्याशी तथा युवा नेता अकलेश कुमार साहको विशेष पहलमा यो योजना अघि बढाइएको हो। सम्बन्धित स्रोतका अनुसार कुल ३५ लाख रुपैयाँको लागतमा सडक निर्माण योजना टेन्डर गरिएको हो, जसले स्थानीय पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय विकासलाई प्राथमिकतामा राख्दै आएका युवा नेता साहले विगत आर्थिक वर्षहरूमा पनि विभिन्न विकास योजनाहरू ल्याएर गाउँपालिकाका विभिन्न वडामा निर्माण कार्य अगाडि बढाएका थिए। उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याहरूको पहिचान गर्ने, आवश्यक परे सम्बन्धित निकायमा पहल गरी बजेट सुनिश्चित गर्ने कार्यमा सक्रिय भूमिका खेल्दै आएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार ठूलो लहावरथकरीदेखि आत्माराम पथसम्मको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले वर्षायाममा हिँडडुल अत्यन्तै कष्टकर हुने गरेको थियो। विद्यार्थी, बिरामी, किसान तथा व्यापारीहरू सबैलाई आवत–जावतमा समस्या भोग्नुपरेको थियो। अब ढलानसहितको पक्की सडक निर्माण भएपछि यातायात सहज हुने मात्र होइन, स्थानीय व्यापार, कृषि उत्पादनको बजार पहुँच र समग्र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।
स्थानीयवासीहरूले विकासका नाममा भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृत्वको आवश्यकता औँल्याउँदै युवा नेता साहको सक्रियता प्रशंसनीय रहेको बताएका छन्। मधेश प्रदेश सरकारको सहयोग र स्थानीय नेतृत्वको पहलले पकाहाँ मैनपुरमा विकासले गति लिँदै गएको भन्दै उनीहरूले खुशी व्यक्त गरेका छन्।
स्थानीयहरूका अनुसार अबको आवश्यकता भनेको यस्ता योजनाहरूलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नु हो। आगामी दिनमा पनि जनमुखी, दीर्घकालीन र परिणाममुखी विकास योजनाहरू निरन्तर रूपमा अगाडि बढ्ने अपेक्षा स्थानीयले गरेका छन्।