खानेपानी तथा सरसफाइ क्षेत्रमा प्रदीप यादवको नेतृत्वकालमा भएका विकास कार्यहरूले जनचासो बढाएको छ। जिम्मेवारी सम्हालेको एक वर्षभित्रै देखिएका ठोस परिणामका कारण स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म उनको कामको चर्चा हुन थालेको हो।
गत वर्ष असार ३१ गतेदेखि जिम्मेवारी सम्हालेपछि यादवले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत रिवर्मा खोलाबाट पानी पथान्तरण गरी उपत्यकामा वर्षभरि नियमित खानेपानी आपूर्ति सुनिश्चित गरेका छन्।
आर्थिक वर्ष २०८१/८२ का लागि करिब १२ अर्ब रुपैयाँ बराबरको स्रोत सहमति जुटाइनुका साथै खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गतका आयोजनामा पूँजीगत खर्च ८६ प्रतिशतसम्म पुगेको छ।
उनको कार्यकालमा उर्लाबारी बृहत् सहलगानी आयोजना, बेलडाँगी खानेपानी आयोजना लगायत देशभर ८६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्।
काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी विस्तारका लागि पाँचवटा प्याकेजमार्फत सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएको छ भने सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु गरिएको छ।
स्वास्थ्य र सरसफाइ सुधारका लागि देशभर नयाँ खानेपानी आयोजना तथा उपभोक्ता संस्थामार्फत क्लोरिनेसन युनिट अनिवार्य रूपमा सञ्चालनमा ल्याइएको छ। मधेस प्रदेशको खानेपानी संकट समाधानका लागि २५० भन्दा बढी स्थानमा डिप बोरिङ निर्माण गरिएको छ।
वीरगञ्ज महानगरपालिकामा वर्षौंदेखिको खानेपानी समस्या एक साताभित्रै घर–घरमा पाइपलाइनमार्फत स्वच्छ पानी पु¥याएर समाधान गरिएको बताइएको छ। साथै पर्सा निर्वाचन क्षेत्र नं. १ का ग्रामीण भेगमा पक्की सडक विस्तार, प्रवेशद्वार निर्माण तथा सौन्दर्यीकरणका कामहरू सम्पन्न भएका छन्।
नीतिगत रूपमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ लागू गरिएको छ भने सहलगानी आयोजनामा जनसहभागिता शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएको छ। यी कामका कारण प्रदीप यादवप्रति जनविश्वास बढ्दो देखिएको छ।