आदर्शनगरमा आयोजित ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिताको उपाधि एसआर ग्यालेक्सीले जितेको छ। फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई पराजित गर्दै एसआर ग्यालेक्सी च्याम्पियन बनेको हो भने डिपिएस उपविजेतामा सीमित भयो।
वीरगञ्ज महानगरपालिका–९ स्थित जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल शिवजीप्रसाद गुप्ताले आफ्नी दिवंगत आमा ज्ञानुदेवीको स्मृतिमा प्रतियोगिता आयोजना गरेका थिए। प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो।
समापन समारोह जीवन ज्योति माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल शिवजीप्रसाद गुप्ताको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। समारोहमा विजेता तथा उपविजेता टिमका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै शिक्षा महाशाखा प्रमुख लामिछानेले विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताए। उनले ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिताले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
विद्यालयका सञ्चालक शिवजीप्रसाद गुप्ताले आमाको नामबाट खेलकुद प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै ग्रासरुट तहबाटै खेलकुद विकास गर्न यस्ता प्रतियोगिता उपयोगी हुने धारणा राखे।
समापन समारोहमा प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरान प्रधान, सल्लाहकार मनि पाख्रिङ र लालबाबु पटेल, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, उपाध्यक्ष शर्मानन्द कुशवाहा, पूर्व अध्यक्ष तथा हिसन जिल्ला उपाध्यक्ष आलोक चौरसिया, प्याब्सन महानगर सचिव अमित आलोक, कोषाध्यक्ष सुरज बाबु पटेल, जिएचपी स्कुलका डाइरेक्टर तथा प्रिन्सिपल रमित कौरलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक–शिक्षिकाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य जीवन ज्योति स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ताले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।