आगामी निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्लामा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पर्सा जिल्लाको नगवा क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिक माहोललाई थप जीवित बनाएको छ।
कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो, जसले नगवामा रास्वपाप्रति बढ्दो आकर्षण संकेत गरेको छ।
घरदैलो कार्यक्रममा रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तले घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए। पन्तले स्थानीयसँग क्षेत्रका समस्या, अपेक्षा र सुझाव सुन्दै पार्टीको धारणा र आफ्नो राजनीतिक प्रतिबद्धता राखेका थिए।
सडक, खानेपानी, शिक्षा, रोजगारी, स्वास्थ्य र सुशासनका विषयमा स्थानीयले राखेका जिज्ञासालाई उनले गम्भीरतापूर्वक सुनेका थिए।
कार्यक्रमका क्रममा उम्मेदवार पन्तले रास्वपाको विजय कुनै एक दलको मात्र नभई समग्र मुलुकको जित हुने दाबी गरे। उनले भने, “रास्वपाको जित भनेको पुरानो राजनीतिक संस्कारबाट मुलुकलाई मुक्त गर्दै नयाँ राजनीतिक संस्कृतिको सुरुवात हो।”
नगवामा देखिएको जनसमर्थनले यसपटक मतदाताले परिवर्तन रोज्नेमा आफू विश्वस्त रहेको पन्तको भनाइ थियो। घरदैलोमा देखिएको उत्साह र सहभागिताले आफ्नो विजय सुनिश्चित हुँदै गएको दाबी पनि उनले गरे।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले लामो समयदेखि दोहोरिँदै आएको पुरानो राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ सोच र व्यवहार भएको नेतृत्व आवश्यक रहेको बताएका थिए।
केही स्थानीयले “यसपटक अनुहार मात्र होइन, काम गर्ने शैली बदल्नुपर्छ” भन्दै रास्वपाप्रति आशा व्यक्त गरेका थिए।
कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, सन्दीप कुश्वाह, विशाल सिंह, माइकल सापकोटा लगायत पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय उपस्थिति रहेको थियो।
उनीहरूले घरदैलो अभियानलाई केवल चुनावी औपचारिकता नभई मतदातासँग विश्वासको सम्बन्ध निर्माण गर्ने माध्यमका रूपमा लिएको बताएका थिए।
रास्वपाले नगवामा गरिएको घरदैलो कार्यक्रमले पार्टीको स्थानीय संगठनलाई थप मजबुत बनाउनुका साथै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्य पूरा भएको जनाएको छ। पार्टीका नेताहरूले आगामी दिनमा पनि पर्साका विभिन्न क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्ने बताएका छन्।
नगवामा देखिएको उत्साहपूर्ण सहभागिताले पर्सा–१ को चुनावी प्रतिस्पर्धा अझ रोचक बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।