आर्थिक अभावका कारण शिक्षाबाट पछि पर्न नदिन वीरगञ्ज महानगरपालिकाभित्र अध्ययनरत अपाङ्गता भएका १६ जना बालबालिकालाई नगद सहयोग उपलब्ध गराइएको छ।
‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपाल र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा प्रत्येक विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले सहयोग हस्तान्तरण गरिएको हो।
महानगर क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत सेतो र पहेंलो परिचयपत्रधारी बालबालिकालाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको थियो। सहयोग रकम हस्तान्तरण गर्दै महानगर प्रमुख राजेशमान सिंहले अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु सबैको दायित्व भएको बताए।
उनले भने, “समावेशी र समान अवसरसहितको शिक्षा हाम्रो प्राथमिकता हो। कुनै पनि बालबालिका आर्थिक कारणले विद्यालय छोड्न बाध्य नहोस् भन्नेमा महानगर प्रतिबद्ध छ।”

लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले रातो र निलो परिचयपत्रधारीले सरकारी भत्ता पाउने व्यवस्था भए पनि सेतो र पहेंलो कार्डधारी बालबालिका त्यस्तो सुविधाबाट वञ्चित हुने गरेको उल्लेख गरिन्।
“त्यसैले विद्यालयमा पढिरहेका यस्ता बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि सहयोग गरेका हौं,” उनले भनिन्।
सहयोग प्राप्त गर्ने १६ जना विद्यार्थीमध्ये ६ जना बालिका र १० जना बालक रहेका छन्। अभिभावकहरूले सहयोग रकमले पढाइ निरन्तरता दिन सहज हुने र बालबालिकामा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन्।
महानगर र गैरसरकारी संस्थाबीचको संयुक्त पहलले समावेशी शिक्षा र सामाजिक उत्तरदायित्वलाई बल पुर्याउने विश्वास व्यक्त गरिएको छ।