पर्सा निर्वाचन क्षेत्र नं। ३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी बहस केवल उम्मेदवार वा दलमा सीमित नरही नेतृत्व शैली र कामको परिणाममाथि केन्द्रित हुँदै गएको देखिएको छ। यसपटकको निर्वाचनले लामो समयदेखि स्थापित राजनीतिक धरातललाई चुनौती दिने संकेत देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।
२०४७ सालदेखि सक्रिय राजनीतिमा रहँदै आएका नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीको भूमिकामाथि मतदातामाझ प्रश्न उठ्न थालेको चर्चा स्थानीय तहमा सुनिन थालेको छ। विगतमा पटक–पटक सांसद र मन्त्री हुँदा पनि अपेक्षित विकास उपलब्धि नदेखिएको आरोप केही मतदाताले लगाउने गरेका छन्। विशेषगरी आधारभूत पूर्वाधार, रोजगारी र सेवा विस्तारमा गति नदेखिएको गुनासो मतदाताबाट आउने गरेको स्थानीय स्रोत बताउँछन्।
यता नेकपा ९एमाले० का युवा उम्मेदवार रूपेश कुमार पाण्डे भने परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा सक्रिय देखिएका छन्। घरदैलो, टोल–टोल भेटघाट तथा जनसंवाद कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउँदै आएका उनले विकास, सुशासन र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेको बताइन्छ। विभिन्न स्थानमा उनलाई स्थानीयले स्वागत तथा समर्थन जनाउनु परिवर्तनप्रतिको जनआकांक्षाको संकेतका रूपमा व्याख्या गरिएको छ।
स्थानीय तहमा युवा पुस्ता विशेषगरी रोजगारी, पारदर्शिता, सुशासन र पूर्वाधार विकासजस्ता विषयलाई केन्द्रमा राखेर नेतृत्व छनोट गर्नुपर्ने पक्षमा देखिएको छ। यसले चुनावी बहसलाई परम्परागत राजनीतिक नाराभन्दा काम र परिणामतर्फ मोडेको विश्लेषण गरिएको छ।
यस क्षेत्रमा नेकपा ९एकीकृत समाजवादी० का छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि चुनावी मैदानमा सक्रिय रहे पनि मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसबीच केन्द्रित देखिएको राजनीतिक वृत्तको बुझाइ छ।
पर्सा–३ मा यसपटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई नेतृत्व शैली, राजनीतिक संस्कार र कार्यसम्पादनको मूल्याङ्कनको रूपमा पनि हेरिएको छ। मतदाताले भाषणभन्दा काम र वाचाभन्दा परिणाम खोजिरहेको चर्चा स्थानीय स्तरमा बढ्दै गएको छ।