राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्सा जिल्लामा संगठन विस्तार अभियानलाई तीव्रता दिँदै वीरगञ्ज महानगरपालिका वडा नं १ मा पार्टी प्रवेश कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं २ की उम्मेदवार बीना जैसवाल कुर्मीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी स्थानीय नेता, कार्यकर्ता तथा समर्थक राप्रपामा प्रवेश गरेको आयोजक पक्षले जनाएको छ। नवप्रवेशीलाई उम्मेदवार कुर्मी तथा पार्टीका स्थानीय नेताहरूले टीका, खादा र अबिर लगाएर स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बीना जैसवाल कुर्मीले राप्रपा वैकल्पिक राजनीतिक शक्ति बन्ने दिशामा अघि बढिरहेको बताइन्। उनले जनताको भावना अनुसार राजनीति गर्न र स्थानीय स्तरमा विकास, सुशासन तथा सेवा प्रवाह सुधारका लागि पार्टी प्रतिबद्ध रहेको उल्लेख गरिन्।
उनले पार्टी प्रवेश गर्नेहरूलाई धन्यवाद दिँदै आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनताको मुद्दालाई प्राथमिकतामा राखेर काम गरिने बताइन्। साथै निर्वाचन नजिकिँदै जाँदा जनतामाझ पुग्ने कार्यक्रमलाई अझ तीव्र बनाइने जानकारी दिइन्।

कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा कार्यकर्ताहरूले पनि राप्रपाको संगठन विस्तारसँगै पर्सा क्षेत्रमा पार्टीको प्रभाव बढ्दै गएको दाबी गरेका थिए। स्थानीय तहमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस भएकाले पार्टी प्रवेशको क्रम बढेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा पार्टीका जिल्ला तथा नगरस्तरीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमलाई आगामी दिनमा अन्य वडाहरूमा पनि निरन्तरता दिइने छ।