पर्सा निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने ताजपुर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार हरि पन्तको चुनावी अभियानले स्थानीयस्तरमा ध्यान आकर्षित गरेको छ। ताजपुरका चोक–चौतारीहरूमा घण्टी चिन्ह बनाइ स्थानीय बासिन्दाहरूले उम्मेदवार पन्तलाई स्वागत गरेका छन्।
विहिवार ताजपुर क्षेत्रमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा स्थानीयहरूले विभिन्न स्थानका चोक तथा चौतारीहरूमा विभिन्न रङ प्रयोग गरी घण्टी चिन्ह बनाएका थिए। स्थानीयको यस प्रकारको सक्रिय सहभागितालाई चुनावी अभियानप्रतिको समर्थन र उत्साहको संकेतका रूपमा हेरिएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव तथा अपेक्षा सुन्ने प्रयास गरेका थिए। कार्यक्रममा सहभागी धेरै मतदाताले मुलुकमा अब परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको वाहकका रूपमा हेरेको बताएका छन्। केही मतदाताले यसपटक घण्टी चिन्हमा मतदान गर्ने मनस्थिति बनाएको धारणा पनि व्यक्त गरेको बताइएको छ।
.jpeg)
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार हरि पन्तले रास्वपाको विजय समग्र देशको परिवर्तनसँग जोडिएको बताए। उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहितायुक्त शासन प्रणाली स्थापना गर्न रास्वपा प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा आफू र पार्टीलाई सहयोग गर्न मतदातासँग आग्रह गरेका थिए।
घरदैलो कार्यक्रममा स्थानीय युवाहरू, महिला समूह तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीयले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा सुधार तथा आधारभूत पूर्वाधार निर्माणमा प्रभावकारी पहल आवश्यक रहेको धारणा राखेका थिए।
.jpeg)
स्थानीय राजनीतिक वृत्तका अनुसार पछिल्लो समय ताजपुर क्षेत्रमा चुनावी गतिविधि बढ्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउन सक्रिय रहेका छन्। यसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको देखिन्छ।
ताजपुरमा देखिएको चुनावी उत्साहले आगामी निर्वाचनमा मतदाताको सहभागिता उल्लेखनीय रहने अनुमान गरिएको छ। स्थानीय तहमा देखिएको सक्रियताले निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने विश्लेषण पनि गरिएको छ।