पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनील रुङटा ले वीरगञ्ज महानगरपालिका–३१ नवकाटोलामा घरदैलो तथा भेटघाट कार्यक्रम गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
उनले मतदाताका अपेक्षा, सुझाव र विश्वासलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै निर्वाचनलाई जनभावना सुन्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको बताएका हुन्।
घरदैलोका क्रममा रुङटाले स्थानीय नागरिकसँग विकास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक पूर्वाधार र खानेपानीजस्ता आधारभूत विषयमा छलफल गरेका थिए। स्थानीयवासीहरूले पनि आफ्ना समस्या र आवश्यकताबारे खुलेर धारणा राख्दै दीर्घकालीन विकास योजनामा जोड दिन आग्रह गरेका थिए।
रुङटाले भने, “मेरो लागि निर्वाचन केवल मत माग्ने प्रक्रिया होइन, जनताको भावना सुन्ने र त्यसलाई कार्ययोजनामा रूपान्तरण गर्ने जिम्मेवारी पनि हो।” उनले यहाँका मतदाताले देखाएको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै नेपाली कांग्रेस सँग जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।
उनले पर्सा क्षेत्र नम्बर–१ को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, उद्योग विस्तार, कृषि आधुनिकीकरण र युवा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने योजना सुनाए। “समान विकास र पारदर्शी काममार्फत क्षेत्रलाई समृद्ध बनाउने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको छु,” उनले भने।
कार्यक्रममा सहभागी स्थानीयहरूले विगतमा अधुरा रहेका विकास आयोजनाहरू पूरा गर्न, नगरका सडक मर्मत, स्वच्छ खानेपानी र स्वास्थ्य सेवामा सुधार ल्याउन उम्मेदवारसँग माग गरेका थिए।
महिला समूहले स्वरोजगार र सीप विकास कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए भने युवाहरूले रोजगारी र खेलकुद पूर्वाधारको विकासमा जोड दिएका थिए।
घरदैलो कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले उम्मेदवार रुङटालाई विजयको शुभकामना दिँदै क्षेत्रको विकासमा जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
पर्सा क्षेत्र नम्बर–१ मा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो र जनसम्पर्क कार्यक्रम तीव्र बनेको छ। यसै क्रममा अनील रुङटाको नवकाटोलामा भएको भेटघाट कार्यक्रमले मतदातासँग प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको स्थानीयहरूले बताएका छन्।