लालपर्सादेखि श्रीपुरसम्म रास्वपाको जनलहर : हरी पन्तको घरदैलोमा हजारौं युवा पार्टीमा आवद्ध
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरी पन्त ले वीरगञ्ज महानगरपालिका–लालपर्सा क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझावहरू सुन्ने अवसर पाएको बताएका छन्।
उम्मेदवार पन्तले लालपर्सासँगै मनियारी, बेल्बा, ज्योति स्पिनिङ क्षेत्र तथा श्रीपुरमा समेत जनसम्पर्क अभियान सञ्चालन गरेका थिए। सो क्रममा हजारौं युवा तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध पेसाकर्मीहरू राष्ट्रिय स्वतन्त्र पार्टी मा आवद्ध भएको जानकारी उनले दिएका छन्।

“यस अभियानमा देखिएको उत्साह र समर्थनले परिवर्तनको चाहना झन् स्पष्ट भएको छ,” उनले भने, “साथ, सहयोग र विश्वासका लागि सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूको भरोसा नै मेरो शक्ति हो।”
घरदैलोका क्रममा स्थानीयवासीहरूले रोजगारी अभाव, उद्योग सञ्चालनमा देखिएको समस्या, शिक्षा र स्वास्थ्य सेवाको अवस्था तथा सडक र खानेपानीजस्ता आधारभूत विषयमा गुनासो राखेका थिए। उनीहरूले युवाको पलायन रोक्न रोजगारी सिर्जना गर्ने योजना ल्याउन तथा स्थानीय उद्योगलाई पुनः सञ्चालन गर्न आग्रह गरेका थिए।
पन्तले युवालाई केन्द्रमा राखेर पारदर्शी र जवाफदेही शासन व्यवस्था स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यमा सुधार, उद्योग व्यवसाय प्रवर्द्धन र आधुनिक कृषि प्रणाली विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्।
“राजनीति सेवा गर्ने माध्यम हो, व्यक्तिगत स्वार्थ पूरा गर्ने होइन,” उनले भने, “जनताको विश्वास जितेर क्षेत्रको समग्र विकासका लागि इमानदारीपूर्वक काम गर्नेछु।”
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पन्तलाई जितको शुभकामना दिँदै विकास र सुशासनका मुद्दामा अडिग रहन आग्रह गरेका छन्।
पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातेका बेला उम्मेदवारहरूको घरदैलो र जनसम्पर्क अभियान तीव्र भइरहेका छन्। यसै क्रममा लालपर्सादेखि श्रीपुरसम्म भएको हरी पन्तको सक्रिय अभियानले मतदातासँग प्रत्यक्ष सम्बन्ध सुदृढ बनाउने प्रयास भएको स्थानीयहरूले बताएका छन्।