प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा पुराना दल छाडेर नयाँ दल रोज्ने युवाहरूको लहर देखिएको छ। यसक्रममा दुई दर्जनभन्दा बढी युवाहरूले नेपाली कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मनवा बजारमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा रास्वपा पर्सागढी नगर सभापति कवि अर्यालको अध्यक्षता रहेको थियो भने पार्टीका नेता चन्द्रभूषण सिंहले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरूको सहभागिताले देशमा नयाँ राजनीतिक संस्कार र पारदर्शी शासनको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे।
रास्वपामा प्रवेश गर्नेहरूमा युवा समाजसेवी रविशंकर दास चौधरी, वडा नम्बर–९ का नेपाली कांग्रेसका वडाध्यक्षका पूर्व प्रत्यासी निरज चौधरी, भूतपूर्व प्रहरी रामाधारी यादव, समाजसेवी मीनबहादुर भण्डारी लगायत दुई दर्जन युवाहरू रहेका छन्। नवप्रवेशीहरूले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपा रोजेको बताएका छन्।
कार्यक्रममा नेता सिंहले आगामी निर्वाचनपछि युवामुखी नेतृत्व उदाउने दाबी गर्दै बालेन शाह जस्ता नयाँ सोच भएका नेतृत्वबाट देशमा सुशासन र विकासको नयाँ अध्याय सुरु हुने बताए। उनले युवाहरूलाई सकारात्मक राजनीति, पारदर्शिता र जनसेवाको अभियानमा सक्रिय हुन आग्रह गरे।
स्थानीय तहमा दल परिवर्तनको यो क्रमले पर्सागढीको चुनावी माहोल थप चहलपहलपूर्ण बनेको छ। विभिन्न दलहरू संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी रणनीतिमा जुटिरहेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार युवाहरूको सक्रियता र नयाँ दलतर्फको आकर्षणले यसपटकको निर्वाचनमा स्थानीय राजनीतिक समीकरण परिवर्तन हुन सक्ने संकेत देखिएको छ।
यसरी निर्वाचनको माहोलसँगै पर्सागढी नगरपालिकामा राजनीतिक चहलपहल बढ्दै जाँदा आगामी नतिजा कस्तो आउने भन्ने विषयमा स्थानीयबासीबीच चासो बढ्दै गएको छ।