प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ का मतदाताबीच परिवर्तनको चाहना थप प्रष्ट हुँदै गएको छ। सुयोग्य, कर्मठ र शिक्षित युवा अनुहारका रूपमा चिनिएका CA अजय चौरसिया चुनावी अभियानमा सक्रिय बनेसँगै युवा वर्गदेखि सर्वसाधारणसम्म उत्साह र आशाको माहोल देखिएको छ।
शिक्षा, रोजगारी, सुशासन र पूर्वाधार विकासका मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढिरहेका चौरसियाले स्थानीयस्तरमा व्यापक जनसम्पर्क अभियान चलाइरहेका छन्। फागुन ४ गते वीरगञ्ज महानगरपालिका–८ गहवामा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। घर–घरमा पुगेका चौरसियालाई मतदाताले फूलमाला र शुभकामनासहित स्वागत गर्दै स्पष्ट समर्थन जनाएका थिए।
कार्यक्रममा युवादेखि वृद्धसम्मले शिक्षित र कर्मठ नेतृत्वलाई संसदमा पुर्याउनुपर्ने धारणा राख्दै परिवर्तनको नेतृत्व गर्न सक्षम युवा अनुहार आवश्यक रहेको बताएका थिए। स्थानीयवासीले विगतका प्रतिनिधिहरूले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गर्दै अब नयाँ सोच र ऊर्जावान नेतृत्व रोज्ने मनस्थिति बनेको बताएका छन्।
चौरसियाले मतदातासँगको भेटघाटमा शिक्षा सुधार, युवालाई स्वदेशमै रोजगारी सिर्जना, स्वास्थ्य सेवा सुलभ बनाउने तथा भ्रष्टाचार नियन्त्रणका लागि स्पष्ट योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै जनताको समस्यालाई संसदमा उठाउने र समाधानका लागि निरन्तर काम गर्ने बताए।
घरदैलो कार्यक्रमपछि चौरसियाको चुनावी अभियानमा थप ऊर्जा थपिएको कार्यकर्ताहरूको भनाइ छ। प्रारम्भिक चरणमै देखिएको व्यापक समर्थनले पर्सा–१ मा यसपटक नयाँ पुस्ताको नेतृत्व उदाउने संकेत देखिन थालेको उनीहरूले बताएका छन्।
चुनावी माहोलसँगै पर्सा क्षेत्र नम्बर–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विभिन्न दल र उम्मेदवारहरू जनताको मन जित्न कार्यक्रम र भेटघाटमा जुटिरहेका छन्। यसबीच CA अजय चौरसियाको सक्रियता र जनताको बढ्दो साथले क्षेत्र नम्बर–१ मा परिवर्तनको आवाज अझ बलियो बन्दै गएको स्थानीयबासीको भनाइ छ।