मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं। १५ भेडियाही–लक्षमन्वा क्षेत्रमा निरन्तर घरदैलो अभियान सम्पन्न भएको छ। नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार अजय चौरसिया को नेतृत्वमा सञ्चालन गरिएको घरदैलो अभियानमा स्थानीय जनताको उत्साहजनक सहभागिता देखिएको थियो।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार चौरसियाले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव तथा अपेक्षा सुनेका थिए। अभियानका क्रममा रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार र युवालाई लक्षित अवसर विस्तारजस्ता विषय प्रमुख रूपमा उठेको बताइएको छ। साधारण जीवनशैली र जनतामै घुलमिल हुने व्यवहारका कारण चौरसियाप्रति स्थानीय समुदायमा सकारात्मक धारणा विकास हुँदै गएको सहभागीहरूले बताएका छन्।
स्थानीयवासीहरूले अहिलेको राजनीतिक अवस्थाबाट निराशा बढेको उल्लेख गर्दै इमान्दार नेतृत्व, दूरदर्शी सोच र जनताको समस्या प्रत्यक्ष रूपमा बुझ्ने नेतृत्व आवश्यक रहेको बताएका थिए। “साधारण जीवन, स्पष्ट दृष्टिकोण र जनताको बीचमै बसेर समस्या सुन्ने नेता आए अब परिवर्तन सम्भव छ,” भन्ने धारणा धेरै स्थानीयले व्यक्त गरेका थिए।
उम्मेदवार चौरसियाले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचन जितेपछि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
घरदैलो अभियानलाई निरन्तरता दिँदै टोल–टोलमा जनसंवाद कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पार्टी स्रोतले जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क मजबुत बनाउने तथा जनताको एजेन्डालाई केन्द्रमा राखेर अभियान अघि बढाइने बताइएको छ।
चुनावी माहोल तात्दै जाँदा विभिन्न दलका उम्मेदवारहरू जनतासम्म पुग्ने अभियानलाई तीव्र बनाइरहेका छन् भने मतदाताहरू पनि उम्मेदवारको विगतको काम, व्यवहार र भावी योजना मूल्याङ्कन गर्दै निर्णय गर्ने तयारीमा देखिएका छन्।