फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला को निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तीव्र रूपमा ध्रुवीकृत बन्दै गएको देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो अभियानलाई आक्रामक र परिणाममुखी बनाउँदै लगेको दाबी गरेको छ भने अन्य दलहरू रक्षात्मक अवस्थामा पुगेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डे लाई केन्द्रमा राखेर पार्टीले संगठनात्मक शक्ति, कार्यकर्ता परिचालन र मतदाता सम्पर्क अभियानलाई तीव्र बनाएको जनाएको छ। पार्टी नेताहरूका अनुसार चुनावी प्रतिस्पर्धा अब केवल उम्मेदवारबीच नभई “संगठन बनाम अस्तव्यस्तता” को लडाइँका रूपमा अघि बढिरहेको छ।
एमाले रणनीतिमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाल लाई प्रमुख चुनावी कमाण्डरको रूपमा प्रस्तुत गरिएको छ। क्षेत्रीय निर्वाचन परिचालन कमिटी संयोजकको भूमिकामा उनले अभियानलाई आक्रामक शैलीमा अघि बढाइरहेको एमाले स्रोतको दाबी छ। स्थानीय तहदेखि प्रदेशस्तरसम्मको राजनीतिक अनुभव प्रयोग गर्दै जयसवालले मतदाता सम्पर्कलाई प्रत्यक्ष र दबाबमूलक बनाएको बताइन्छ।
गाउँ–टोल केन्द्रित घरदैलो, जनसंवाद, कार्यकर्ता प्रशिक्षण र लक्षित मतदाता भेटघाट कार्यक्रममार्फत एमालेले चुनावी मैदानमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको जनाएको छ। एमाले कार्यकर्ताहरूले आन्तरिक रूपमा जयसवाललाई “निर्णायक चुनावी फ्याक्टर” का रूपमा लिन थालेको चर्चा भइरहेको छ।
जयसवालले सार्वजनिक कार्यक्रमहरूमा पाण्डेलाई “परिवर्तनको अनिवार्य शक्ति” का रूपमा प्रस्तुत गर्दै पुरानो शैलीको राजनीतिलाई चुनौती दिन सक्ने नेतृत्वको रूपमा चित्रण गर्ने गरेका छन्। उनले मतदातालाई विकास, रोजगारी र सुशासनका मुद्दामा स्पष्ट निर्णय लिन आग्रह गर्दै आएका छन्।
पाण्डेले अघि सारेका एजेन्डा—पूर्वाधार विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा सुधार र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि—लाई एमालेले चुनावी मुख्य एजेन्डाका रूपमा आक्रामक ढंगले प्रचार गरिरहेको छ। विशेषगरी युवा, व्यवसायिक वर्ग र शिक्षित मतदातामा आफ्नो प्रभाव विस्तार भइरहेको एमालेको दाबी छ।
एमालेले पर्सा–३ को चुनावलाई “भविष्य बनाम विगतको राजनीति” को प्रतिस्पर्धाका रूपमा व्याख्या गर्न थालेको छ। पार्टीले पाण्डेको युवा ऊर्जा र जयसवालको राजनीतिक अनुभवलाई संयुक्त चुनावी शक्ति अर्थात् रणनीतिक ‘डबल कमाण्ड’ को रूपमा प्रस्तुत गरिरहेको जनाएको छ।
यसैक्रममा मंगलबार सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ मा पाण्डेले आक्रामक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विपक्षी दललाई विकासमा असफल भएको आरोपसमेत लगाएको एमाले स्रोतले जनाएको छ।
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल सहित स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। सहभागीहरूले विकास, पारदर्शिता र राजनीतिक स्थायित्वका मुद्दामा कडा अडान लिन पाण्डेलाई आग्रह गरेका छन्।