फागुन २१ गते नजिकिँदै गएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा उम्मेदवार प्रदीप यादव ले मंगलबार महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत इनार्वा मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा यादवले स्थानीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, रोजगारी अवसर विस्तार तथा आधारभूत सेवा सुधारका विषयमा छलफल गरेका थिए। स्थानीयवासीबाट प्राप्त सुझाव, साथ र शुभेच्छाले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उनले बताएका छन्।
घरदैलो कार्यक्रममार्फत उम्मेदवार यादवले स्थानीय समस्याहरू—खानेपानी व्यवस्थापन, सडक पूर्वाधार सुधार, सरसफाइ, स्वास्थ्य सेवा पहुँच र युवा रोजगारी—लाई प्राथमिकतामा राख्दै समाधानमुखी योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय बासिन्दाहरूले पनि विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको बताइएको छ।
यसैदिन इनार्वामै नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को तर्फबाट चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। उक्त कार्यालय जनतासँग निरन्तर समन्वय गर्ने, गुनासा तथा सुझाव संकलन गर्ने र चुनावी गतिविधिलाई व्यवस्थित बनाउने केन्द्रका रूपमा सञ्चालन हुने जनाइएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार यादवले सम्पर्क कार्यालयलाई जनताको आवाज सुन्ने र विकास योजनालाई व्यवहारमा उतार्ने माध्यमका रूपमा उपयोग गरिने बताए।
यादवले समृद्ध वडा, व्यवस्थित शहर र उज्ज्वल भविष्य निर्माणलाई आफ्नो चुनावी लक्ष्यका रूपमा प्रस्तुत गर्दै त्यसका लागि जनताको साथ, सहयोग र विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेका छन्। उनले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार वीरगञ्जका विभिन्न वडामा बढ्दो घरदैलो र प्रत्यक्ष मतदाता सम्पर्क कार्यक्रमले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउँदै लगेको छ। चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूबीच मतदाता विश्वास जित्ने प्रतिस्पर्धा अझ तीव्र हुने अनुमान गरिएको छ।