पर्सा क्षेत्रका विभिन्न गाउँ–टोलमा चुनावी माहोल तातेका बेला टेढा बस्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तको समर्थनमा उल्लेख्य जनसहभागिता देखिएको छ। टेढामा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थानीय बासिन्दाको ठूलो समूह रास्वपामा प्रवेश गर्दै हरि पन्तको चुनावी अभियानमा खुलेर समर्थन जनाएका छन्।
कार्यक्रममा विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गरेका स्थानीयहरूले देशले अहिले परिवर्तनको आवश्यकता महसुस गरिरहेको उल्लेख गर्दै रास्वपा नै जनताको आशा र भरोसाको पार्टी बनेको बताए। उनीहरूले पुराना राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अब नयाँ सोच र नयाँ नेतृत्वको पक्षमा उभिएको स्पष्ट पारे।
कार्यक्रममा बोल्दै रास्वपा पर्सा सभापति तथा उम्मेदवार हरि पन्तले देशभर परिवर्तनको लहर चलिरहेको दाबी गर्दै आगामी सरकार रास्वपाले बहुमतका साथ गठन गर्ने विश्वास व्यक्त गरे। उनले पुराना राजनीतिक प्रवृत्तिका कारण मुलुकको विकास अवरुद्ध भएको आरोप लगाउँदै जनताले अब त्यस्ता शक्तिलाई अस्वीकार गर्ने बताए। “देश परिवर्तनको चरणमा छ, जनताको साथ रास्वपासँग छ,” उनले भने।
कार्यक्रममा करिब पाँच सयभन्दा बढी स्थानीयलाई पार्टी प्रवेश गराइएको आयोजकले जनाएको छ। विशाल कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा साकिर हुसेन, अबुलेश हुसेन, सगिर आलम, पूर्ण सपकोटा, मनिष यादव, कमला भुजेल, चन्दन यादवलगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा बढ्दो समर्थनले चुनावी माहोल थप चर्किँदै गएको देखिएको छ। टेढामा भएको ठूलो सहभागिताले रास्वपाको चुनावी अभियानलाई थप ऊर्जा दिएको नेताहरूले बताएका छन्। आगामी दिनमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई अझ तीव्र बनाउने र मतदाताको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने योजना पार्टीले अघि सारेको छ।
यसैबीच, टेढा क्षेत्रका युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ। स्थानीयले विकास, रोजगारी, शिक्षा र सुशासनलाई मुख्य मुद्दा बनाउँदै उम्मेदवारसँग स्पष्ट प्रतिबद्धता मागिरहेका छन्।