इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन पर्साले दोस्रो दिन पनि घण्टाघर क्षेत्रमा शान्तिपूर्ण विरोध कार्यक्रम जारी राखेको छ। एशोसिएसनका सचिव इन्जिनियर मनिष प्रसाद केशरीका अनुसार पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनलाई निरन्तरता दिइएको हो।
उनका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पेनडाउन तथा ‘कलम बन्द’ कार्यक्रम गरी कार्यालय परिसरमा कालोपट्टी बाँधेर शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। “इन्जिनियरहरूको कामको आत्मसम्मान हुनुपर्छ र पेशागत सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्छ भन्ने हाम्रो प्रमुख माग हो,” सचिव केशरीले बताए। यस्तो अवस्था दोहोरिए काम गर्न कठिन हुने भन्दै सरकारले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने उनले जोड दिए।
कार्यक्रममा सहभागी इन्जिनियरहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म विरोधका कार्यक्रम जारी रहने चेतावनी समेत दिएका छन्। मृतक यादवको सम्झनामा बेलुकी ६ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम समेत तय गरिएको सचिव केशरीले जानकारी दिए।
नेपाल इन्जिनियर्स एशोसिएसन पर्साका सभापति प्रियान्सु कुमार गुप्ताको नेतृत्वमा सम्पन्न विरोध कार्यक्रममा उपसभापति इन्जिनियर श्याम किशोर प्रसाद दास, सचिव इन्जिनियर मनिष प्रसाद केशरी, कोषाध्यक्ष इन्जिनियर एकबाल हुसेन तथा सदस्यहरू रुपेश चौरसिया, कृष्णा रवि कुमार पटेललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
इन्जिनियरहरूको सुरक्षा, पेशागत सम्मान र हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको मागसहित आन्दोलन जारी रहेको एशोसिएसनले जनाएको छ। घटनाको छानबिन तीव्र बनाउन तथा दोषीलाई छिटो कानुनी दायरामा ल्याउन सरकारसँग इन्जिनियर समुदायले आग्रह गरेको छ।