पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सञ्चालन गरेको घरदैलो तथा जनता दर्शन कार्यक्रमले चुनावी माहोल एकाएक तातेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले गाउँ–गाउँमा देखाएको सक्रियता र समर्थकको भीडले पर्सा–३ को राजनीतिक समीकरण हल्लिएको संकेत देखिएको छ।
एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डे को पक्षमा देखिएको जनलहरले स्थानीय तहमा नयाँ बहस र प्रतिस्पर्धा जन्माएको छ।
घरदैलो अभियानका क्रममा पाण्डेले ज्येष्ठ नागरिक, महिला, युवा र किसानसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सडक–पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएको बताए।
स्थानीय बासिन्दाले विगतका अपूरा वाचा र विकासको सुस्त गतिप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ नेतृत्वप्रति आशा देखाएका छन्। “अबको चुनाव परिवर्तनको पक्षमा जान्छ,” भन्दै मतदाताहरूले खुलेर समर्थन जनाएको एमाले पक्षको दाबी छ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले फागुन २१ गते सूर्य चिन्हमा मतदान गर्दै पाण्डेलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्। एमाले वृत्तका अनुसार पर्सा–३ मा युवा नेतृत्वप्रतिको आकर्षण बढ्दै गएको छ र मतदाताले स्पष्ट योजना तथा दृढ नेतृत्व खोजिरहेका छन्।
यसैबीच अन्य दल पनि आ–आफ्नो रणनीतिमा सक्रिय बन्दै गए पनि सखुवा प्रसौनीसहित समग्र पर्सा–३ मा एमालेको अभियान थप प्रभावकारी बनेको दाबी गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा क्षेत्रको राजनीतिक तापक्रम चर्किंदै गएको छ, र यसपटकको मत परिणामले पर्सा–३ को भविष्यको दिशा तय गर्ने देखिएको छ।