राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार शुसील कुमार कानुले बुधबार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा व्यापक घरदैलो तथा जनता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। स्थानीय बासिन्दाको उल्लेख्य सहभागिताबीच सम्पन्न कार्यक्रमले चुनावी माहोललाई थप सक्रिय बनाएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले टोल–टोलमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरेका थिए। उनले दैनिक जीवनसँग गाँसिएका समस्या, विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक तथा खानेपानीजस्ता विषयमा स्थानीयको गुनासा र सुझाव सुने। नागरिकले वर्षौंदेखि समाधान नभएका समस्या राख्दै वास्तविक विकासको अपेक्षा व्यक्त गरेका थिए।
भेटघाटका क्रममा उम्मेदवार कानुले आफू केवल मत माग्न नभई जनताको वास्तविक समस्या बुझ्न र त्यसको दीर्घकालीन समाधान खोज्न आएको स्पष्ट पारे। “जनताको विश्वास जित्नका लागि पहिले उनीहरूको पीडा बुझ्नुपर्छ,” उनले भने, “रास्वपाले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काममार्फत पर्सा–२ लाई नयाँ दिशा दिनेछ।”
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले पनि कानुको घरदैलो अभियानलाई सकारात्मक रूपमा लिँदै आफ्नो क्षेत्रको विकासका लागि ठोस योजना ल्याउन आग्रह गरेका थिए। उनीहरूले सडक विस्तार, फोहोर व्यवस्थापन, रोजगार सिर्जना र गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्ने बताएका थिए।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। आगामी निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा विभिन्न दलका उम्मेदवारहरू सक्रिय बनेका छन् भने मतदाता भेटघाट कार्यक्रम तीव्र रूपमा अघि बढिरहेका छन्।