पर्सा जिल्लामा चुनावी सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अभियानलाई तीव्र बनाएको छ। पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले घरदैलो कार्यक्रमलाई आक्रामक बनाउँदै संगठन विस्तार र कार्यालय उद्घाटनलाई समानान्तर अघि बढाएका छन्।
वीरगञ्जको हरपतगञ्जमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो। टोल–टोलमा पुगेका पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण तथा जनउत्तरदायी शासन आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे।
समर्थकहरूले घण्टी बजाउँदै “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” जस्ता नारा लगाएर कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए। “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने सन्देश दोहोर्याउँदै पन्तले परम्परागत राजनीतिक अभ्यासबाट निराश जनताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे।
घरदैलोका क्रममा स्थानीयले रोजगारी, कृषि, सडक–पूर्वाधार, शिक्षा, स्वास्थ्य र समग्र आर्थिक–राजनीतिक अस्थिरताबारे प्रश्न उठाएका थिए। जवाफमा पन्तले योजनाबद्ध र परिणाममुखी विकासमार्फत क्षेत्रीय समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। साथै, केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय र सहकार्यका लागि रास्वपालाई जिताउन आग्रह गरे।
यसैबीच, पन्तले इनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। आयोजित कार्यक्रममा उनले इनरुवावासीबाट आफूले पाएको माया र समर्थनप्रति आभार व्यक्त गर्दै “यहाँको विश्वासलाई सधैं सम्मान गर्नेछु” बताए।
उक्त कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। पार्टी कार्यालय उद्घाटनमा सम्साद आलम, तबरेज अहमद र सन्नी कुमार गुप्ताले अग्रसरता लिएका थिए।
निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न सक्रिय बनेका छन्। रास्वपाले भने वैकल्पिक राजनीतिक शक्तिको रूपमा जनतामाझ आफ्नो उपस्थिति बलियो बनाउँदै लैजाने रणनीति अघि सारेको जनाएको छ।