आरोहण शाह
वीरगञ्ज : पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवप्रति मतदाताको निराशा बढ्दै गएको चर्चा सुरु भएको छ। यादवले घरदैलो र जनसंवाद कार्यक्रममा आफू नयाँ पुस्ताको आवाज भएको दाबी गरिरहेकी छन्। तर व्यवहारमा भने उनले केन्द्रका शीर्ष नेताहरूलाई बोलाएर आमसभा र कार्यक्रम आयोजना गर्ने शैली अपनाएको भन्दै आलोचना भइरहेको छ।
स्थानीय युवाहरूको भन्छन्, “यदि जेनजीको प्रतिनिधित्व गर्ने हो भने आफ्नै स्पष्ट योजना र दृष्टिकोणसहित अघि आउनुपर्छ, केन्द्रका नेताको भाषणले मात्र युवाको भरोसा जितिँदैन।” विशेषगरी युवापुस्तामाझ आफूलाई “जेनजीको प्रतिनिधि” बताउँदै आएकी यादवले व्यवहारमा भने जेनजीका प्रमुख मागहरू सम्बोधन गर्न नसकेको आरोप लागिरहेको छ। कतिपयले उनलाई “केन्द्रको सहारामा चुनाव लड्ने” शैली अपनाएको भन्दै आलोचना गरेका छन्।
घरदैलो अभियानका क्रममा यादवले आफू नयाँ पुस्ताको सोच र नेतृत्वको प्रतिनिधित्व गर्ने बताउँदै आएकी छन्। तर स्थानीय युवाहरूको भनाइ छ कि रोजगारी, डिजिटल अवसर, सीप विकास, स्टार्टअप प्रवद्र्धन, पारदर्शिता र सुशासन जस्ता जेनजीका प्राथमिक मुद्दामा स्पष्ट कार्यक्रम सार्वजनिक गरिएको छैन।
एमालेका केन्द्रीय तहका प्रभावशाली नेताहरूलाई बोलाएर आमसभा र कार्यक्रमहरू आयोजना गरिरहेकी छिन् । ती सभाहरूमा भीड उल्लेख्य भए पनि स्थानीय मतदाताहरूको प्रश्न भने उस्तै रहेको बताइन्छ—“हाम्रो क्षेत्रको ठोस योजना के हो?”
स्थानीय युवाहरूको भन्छन, “हामीलाई ठूला नेताको भाषणभन्दा हाम्रो गाउँ–टोलको समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता चाहिएको छ।” खानेपानी, सडक मर्मत, रोजगार सिर्जना, कृषि बजार व्यवस्थापन र साना व्यवसाय प्रवद्र्धन जस्ता विषयमा उम्मेदवार स्वयंले प्रष्ट धारणा राख्न नसकेको युवाहरूले गुनासो गरेका छन् ।
यादवप्रतिको प्रारम्भिक उत्साह क्रमशः कमजोर हुँदै गएको आकलन हुन थालेको छ। पार्टीको संगठन बलियो भए पनि व्यक्तिगत एजेन्डा र स्पष्ट दृष्टिकोण नदेखिँदा प्रतिस्पर्धी उम्मेदवारहरूलाई फाइदा पुग्ने विश्लेषण गरिएको छ।