वीरगञ्ज : पर्सा जिल्लाको पकहाँमैनपुर र विन्दवासिनी गाउँपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रदेश कमिटी सदस्य तथा पकहाँमैनपुर पालिका इन्चार्ज विजय चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाशलगायत जिल्लास्तरका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले आफू क्षेत्रको समग्र विकासलाई प्रमुख एजेन्डा बनाएर अघि बढेको स्पष्ट पार्नुभयो। उनले पकहाँमैनपुरसहित सम्पूर्ण क्षेत्रलाई आर्थिक रूपमा सबल, सामाजिक रूपमा समावेशी तथा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधारसहित समृद्ध बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।
“पर्सा–३ अब पछाडि फर्कनु हुँदैन। यो क्षेत्रको भविष्य समृद्धि, रोजगारी र सुशासनसँग जोडिएको छ,” भन्दै पाण्डेले जनताको भरोसा नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो। युवाको ऊर्जा, किसानको पसिना र आम नागरिकको चाहनालाई नीतिगत रूपमा कार्यान्वयन गर्ने स्पष्ट भिजन समेत उहाँले प्रस्तुत गर्नुभयो।
भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेको नेतृत्वमा मात्र पर्सा–३ मा दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्दै रूपेश पाण्डेको उम्मेदवारीलाई परिवर्तनको ऐतिहासिक अवसरका रूपमा चित्रण गरे। यसैगरी नेकपा एमाले विन्दवासिनी गाउँपालिका कमिटी अध्यक्ष गम्भीर साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पकहाँमैनपुर र विन्दवासिनी गाउँपालिकामा सम्पन्न यस भेलाले पर्सा–३ मा नेकपा एमालेको संगठनात्मक आधार थप सुदृढ हुँदै गएको र आगामी निर्वाचनमा परिवर्तनको लहर अझ बलियो बन्ने स्पष्ट सन्देश दिएको छ।