आरोहण शाह
पर्सा : पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवको चुनावी प्रचारले नयाँ बहस जन्माएको छ। उनका अधिकांश चुनावी ब्यानर, पोस्टर र प्रचार सामग्रीमा पार्टीका केन्द्रीय नेताहरूको तस्बिर देखिँदैन। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर समेत पूर्ण रूपमा चुनावी ब्यानरबाट गायब छ ।
सामान्यतया एमालेजस्ता केन्द्रीय नेतृत्वमा आधारित दलमा उम्मेदवारले पार्टी अध्यक्षको तस्बिरलाई ‘ब्रान्ड’कै रूपमा प्रयोग गर्ने प्रचलन छ। तर पर्सा–२ मा त्यो परम्परा भंग भएको देखिन्छ। यसले स्थानीयस्तरमा प्रश्न उठाएको छ—यो आत्मविश्वास हो कि पार्टीप्रतिको असहजता ?
यादवले केन्द्रीय नेतृत्वको छायाँबाट टाढा रहेर ‘स्थानीय अनुहार’ बन्न खोजेको संकेत देखिन्छ। तर आलोचकहरू भने यसलाई फरक रूपमा व्याख्या गर्छन्। उनीहरू भन्छन्, “पार्टी नेतृत्व र केन्द्रको आलोचना चर्किएको क्षेत्रमा मत जोगाउन ओलीको तस्बिर लुकाइएको हो।”
स्थानीय मतदातामाझ एमाले नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको सन्दर्भमा उम्मेदवारले जानाजानी केन्द्रीय अनुहार नदेखाएको आरोप पनि लागिरहेको छ। “भोट चाहिँ पार्टीको नाममा माग्ने, तर पार्टी नेतृत्वको जिम्मेवारी चाहिँ नलिने—यो कस्तो राजनीति हो?” एक स्थानीय मतदाताले भने ।
यादव आफूलाई कहिले ‘नयाँ पुस्ताको उम्मेदवार’को रूपमा प्रस्तुत गर्दै आएकी छन्। तर पार्टीको टिकटमा उठेर पार्टीकै नेतृत्वको तस्बिर हटाउनु राजनीतिक ईमानदारी हो कि अवसरवाद—यो प्रश्न अझै अनुत्तरित छ।
पर्सा–२ को चुनाव अब केवल उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र होइन, पार्टी पहिचान, नेतृत्वप्रतिको भरोसा र स्थानीय जनभावनाको परीक्षा बन्दै गएको छ। रिमा यादवको ब्यानरमा नदेखिएको तस्बिरले देखाएको सन्देश भने निकै गहिरो छ।