पर्सा : पर्सा जिल्लामा चुनावी कार्यक्रम तीव्र भए पनि मतदातामा उत्साह भने मिश्रित छ। पुराना दलप्रति निराशा र नयाँ विकल्प खोज्ने मनोविज्ञान दुवै देखिएको छ। यसपटक चारै क्षेत्रमा उम्मेदवार दर्ता संख्या ठूलो छ, जसले प्रतिस्पर्धा थप रोचक बनाएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेसको औद्योगिक र राजनीतिक केन्द्र मानिने पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा चुनावी माहोल तात्दै गएको छ। उम्मेदवारी दर्ता भएसँगै दलहरू घरदैलो अभियान, जनसभा र संगठन सुदृढीकरणमा व्यस्त छन्। यसपटक पर्सामा ४ वटै क्षेत्रमा गरी सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसले चुनावी प्रतिस्पर्धा थप रोचक बनाएको छ।
मतदातामा भने पुराना दलप्रति असन्तुष्टि र नयाँ विकल्प खोज्ने मनोविज्ञान पनि देखिन थालेको स्थानीय जनाकारहरू बताउँछन्।
पर्सा–१ मा तात्दैछ चुनावी माहोल
पर्सा–१ मा दल परिवर्तन गर्दै एमालेबाट उम्मेदवारी दिएका पूर्वमन्त्री प्रदीप यादव लगातार तेस्रो पटक जित निकाल्ने रणनीतिमा छन्। उनी लामो समयदेखि यस क्षेत्रमा सक्रिय राजनीतिक पात्रका रूपमा चिनिन्छन्। अर्कोतर्फ नेपाली कांग्रेसका अनिल रुंगटा भने लामो समयदेखिको जितविहीन अवस्था तोड्ने योजनामा छन्। राजनीतिक रूपमा उद्योग–व्यवसाय पृष्ठभूमिका उम्मेदवार बढ्दै गएको प्रवृत्तिमा रुंगटा पनि एक उदाहरण मानिन्छन्, जसले आर्थिक मुद्दा चुनावी एजेन्डा बन्ने संकेत गरेको विश्लेषण गरिएको छ। यस क्षेत्रमा अन्य दल र नयाँ अनुहार पनि मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा यादव–रुंगटा केन्द्रित हुने अनुमान गरिएको छ।
पर्सा–२ मा चौरसियालाई युवा चुनौती
पर्सा–२ मा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियालाई युवा उम्मेदवारहरूले कडा चुनौती दिइरहेका छन्। यस क्षेत्रमा एमालेबाट युवा उम्मेदवार रिमा कुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील साह कानु तथा राप्रपाबाट बीना जैसवाल प्रत्यक्ष मैदानमा छन्।यस क्षेत्रमा करिब ९५ हजारभन्दा बढी मतदाता रहेको र बहुदलीय प्रतिस्पर्धा भए पनि मुख्य भिडन्त कांग्रेस–रास्वपा–एमाले र राप्रपाबीच केन्द्रित हुने देखिएको छ। स्थानीय स्तरमा भने युवा नेतृत्वप्रति आकर्षण बढ्दै गएको चर्चा सुनिन थालेको छ।
पर्सा–३
पर्सा–३ मा नेपाली कांग्रेसका अनुभवी नेता सुरेन्द्रप्रसाद चौधरी मुख्य प्रतिस्पर्धामा छन्। उनलाई एमालेका युवा व्यवसायी रुपेश पाण्डेले टक्कर दिइरहेका छन । चौधरीले आफ्नो अनुभव र जनसम्पर्कलाई मुख्य हतियार बनाएर मतदातासँग सम्पर्क गरिरहेका छन् भने पाण्डेले युवा ऊर्जा, व्यवसायिक दक्षता र क्षेत्रीय विकासमा जोड दिँदै प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। स्थानीय मतदाताका अनुसार, चौधरीको लामो राजनीतिक अनुभवले केही मतदाता आकर्षित गरेको छ भने युवा उम्मेदवार पाण्डेका नयाँ सोच र योजना पनि उत्सुकता जगाइरहेको छ। यसै क्षेत्रमा नेकपाका छोटेलाल यादव तथा रास्वपाबाट निर्माण व्यवसायी रामाकान्त चौरसिया पनि मैदानमा छन्।
पर्सा–४ मा
पर्सा–४ मा नेपाली कांग्रेसका पूर्वमन्त्री रमेश रिजाल र एमालेका जालिम मियाँ मन्सुरीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। यसबाहेक नेकपाका जयप्रकाश थारु र रास्वपाका टेकबहादुर शाक्यप्रति बढ्दो आकर्षणले चुनावलाई बहुपक्षीय बनाएको छ। स्थानीय मतदाताबीच नयाँ अनुहार र नीतिप्रतिको उत्सुकता देखिए पनि, अनुभवी नेताहरूको प्रभाव अझै कायम रहेको छ। निर्वाचन क्षेत्रमा चुनावी प्रचार र मतदातासँगको संवादमा सहभागी हुने उम्मेदवारहरूले आफ्नो दृष्टिकोण र विकास योजना प्रस्तुत गर्नेतर्फ ध्यान केन्द्रित गरेका छन्। पर्सा–४ को मत परिणामले केवल दुई मुख्य दलको मात्र होइन, मध्यम दल र नयाँ उम्मेदवारहरूको पनि शक्ति समीकरणमा असर पार्ने सम्भावना रहेको छ। स्थानीय मतदाताबीच नयाँ अनुहारप्रति उत्सुकता देखिए पनि अनुभवी नेतृत्वको प्रभाव अझै कायम रहेको बताइन्छ।